२०७८ भाद्र २६, शनिबार १४:३३ बजे

मनिस कुमार ठाकुर  – सत्ता र पैसाको शक्तिले जे पनि हुँदोरहेछ । न त उसलाई कानुन लाग्छ न त उसलाई प्रहरी प्रशासनको कुनै डरत्रास । कानुन र प्रहरी प्रशासन पनि निरीह र निर्बल व्यक्तिका लागि मात्रै हुन्छ । माथिसम्म पहुँच भएका व्यक्तिका लागि त कानुन खेलाचीको विषय बन्नपुग्छ । शक्ति र पैसाको आडमा कानुनलाई खेलाची बनाउने एक पात्र हुन्, सञ्जयकुमार झा ।

करोडौँ रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका रौतहटका झा शक्ति र पैसाकै आडमा कानुनलाई खेलाची बनाउँदैआएका छन् । कानुनको नजरमा उनी अभियुक्त हुन्, प्रहरी हिरासतमा बस्नुपर्ने हो । तर शक्ति र पैसाको बलमा उनी प्रहरी हिरासतमा छैनन् । अस्वस्थताको झुठा प्रमाण देखाएर अस्पतालको बेडमा आराम गर्दैआएका छन् । यति मात्र होइन्, अस्पतालको बेड त उनको नाममा रिजर्भमात्रै गरिएको छ । उनी बस्ने त बुद्धनगरको आफ्नै घरमा हुन् । यी सबै प्रहरीको आँखाअगाडि नै भइरहेको छ ।

केन्ट कलेजका सञ्चालक रहेका झा गत भदौ १० गते काठमाडौंको बुद्धनगरबाट पक्राउ परेका थिए । एउटै कलेज विभिन्न व्यक्तिलाई बिक्री गरी करोडौँ रुपैया ठगीको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । यद्यपि उनलाई पक्राउ गर्न प्रहरीले अनाकानी गर्दैआएका थिए । सर्लाहीका सांसद तथा नेपाली काँग्रेसका नेता अमरेशकुमार सिंहका जेठान नातामा पर्ने झाविरुद्ध जाहेरी दर्ता गर्न र पक्राउ गर्न प्रहरीले मानेकै थिएन् । प्रवीणकुमार झासँग दुई करोड रुपैयाँ लिएर कलेज बिक्री गरेका सञ्जयले अन्य पनि दुई व्यक्तिसँग मोटो रकम लिएर त्यही कलेज बिक्री गरेका थिए । तर खरिदकर्ताहरु भौतारिरहेका छन् उनीहरुले न त पैसा फिर्ता पाएका छन्, न त कलेज नै चलाउन पाएका छन् ।

यति धेरै व्यक्तिसँग करोडौँ रुपैयाँ लिएर ठगी गरेर पनि प्रहरीले समात्न इनकार गरेपछि प्रवीण झा लगायतले उच्च अदालत पाटनमा परमादेश रिट दायर गरे । उच्च अदालतले सञ्जयविरुद्ध ठगीको मुद्दा दर्ता गरी अनुसन्धान गर्न २०७७ मंसिर १८ गते परमादेश जारी गरेपछि मात्रै प्रहरीले सञ्जयलाई पक्राउ गर्यो । तर उनी पक्राउ परेकै दिन अकस्मात विरामी परे । पक्राउ पर्नुअघि पूणर्् स्वस्थ रहेका उनी अकस्मात बिरामी भए । एक आफन्त चिकित्सकले उनलाई आराम गर्नुपर्ने सिफारिश गरिदिए । त्यही सिफारिशका आधारमा उनी पक्राउ परेकै साँझ सांसद सिंहको जोडबलमा हिरासतमुक्त भए । कुनै रोग नलागेको भए पनि उनलाई चावहिलको ओम अस्पताल आराम गर्न पुर्याइयो । त्यहाँ केही दिनको बसाईपछि उनी थापाथलीको नर्भिक अस्पतालमा सरे । त्यहाँ पनि लामो समय राख्न नसकिने भन्दै चिकित्सकले जवाफ दिएपछि पुनः उनी सिनामंगलको काठमाडौं मेडिकल कलेजमा अहिले आराम गरिरहेका छन् । चिकित्सकहरुले गरिदिएको फर्जी सिफारिसकै आधारमा सञ्जय अस्पताल परिवर्तन गर्दै आइररहेका छन् । अस्पतालको बेडमा भर्ना भएका सञ्जयको दैनिकी भने आफ्नै निवास बुद्धनगरमा बित्ने गर्छ । सांसद सिंहको सत्ता शक्ति र सञ्जयको पैसाको उन्मादले प्रहरी प्रशासन निरीह र मुकदर्शक बनेको छ ।

प्रवीण झा लगायतका पीडितहरु ठगीका अभियुक्त सञ्जयउपर कडा कानुनी कारबाही हुनुपर्ने माग गर्दै दिनहुँ प्रहरीसमक्ष धाउँदैआएका छन् । तर प्रहरीले भने सञ्जयकै सेवामा तल्लीन छ । प्रहरी खोरमा राखेर मुद्दा चलाउनुपर्ने व्यक्तिलाई प्रहरीकै संरक्षणमा जोगाउने काम भइरहेको प्रवीणले गुनासो गरे । उनले भने–‘सत्ता र पैसाको आडमा करोडौँ ठगीका अभियुक्तलाई प्रहरीले संरक्षण दिइरहेको छ, हामी भने दिनहुँ न्यायको खोजीमा धाउन बाध्य छौ । हामी पीडितका लागि त प्रहरी कानुन केही नहुँदो रहेछ, जसको शक्ति उसैको भक्तिमा राज्य संयन्त्र छ ।’
काठमाडौं महानगरीय प्रहरी परिसरका कुनै पनि अधिकारी उक्त विषयमा बोल्न चाँहदैनन् । अनुसन्धान भइरहेको छ भन्दै पन्छिन खोजे । प्रहरीकै एक पूर्व डिआइजीले भने प्रहरीको यस्तो रवैया गलत भएको बताए । अभियुक्तलाई विशेष अवस्थामा बाहेक अनावश्यक संरक्षण दिन नहुने बताउँदै उनले यस्तो रवैयाले प्रहरीको साखमा आँच आाउने बताए । ‘प्रहरीले कानुन र न्याय हेर्ने हो, पीडक त बलियो हुन्छ, शक्ति र पैसा हुन्छ, तर प्रहरी जहिले पनि पीडितमैत्री हुनुपर्छ’, ती पूर्वडिआजीले भने । साभार द नेपाल टप

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय