२०७८ आश्विन २२, शुक्रबार ०७:२७ बजे

वीरगन्ज : वीरगन्जको मुर्लीस्थित कब्रस्तान (मुस्लिमको शम्शानघाट) मा गाड्न लागेकै अवस्थामा एक बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। भारतको बिहार पश्चिमी चम्पारण जिल्लाको इनर्वा खमीया गाँउकी १४ वर्षीया बालिका जयुनत खातुनको शव  प्रहरीले कब्रस्तानबाटै नियन्त्रणमा लिएको हो।

शंकास्पद मृत्यु भएकी ती किशोरीको शव अभिभावक र आफन्तले प्रहरीलाइ थाहै नदिई कब्रस्तानमा बिहीबार साँझ लगेर दफनाउन ( गाड्न ) लागेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। शव अहिले वीरगन्जस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको छ।

वीरगन्जको मुर्लीस्थित कब्रस्तानमा जयुनत खातुनको शव गाड्न लागेका बेला प्रहरीले नियन्त्रणमा लिँदै। तस्बिर : सौजन्य जिप्रका पर्सा  

किशोरीको मृत्यु शंकास्पद देखिएकाले शवको पोष्टमार्टम वीरगन्जमै गर्ने कि काठमाडौं पठाउने विषयमा छलफल भइरहेको पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। मृत्युको कारण लुकाउन हतार हतार गरेर शव इदगाहमा लगेर गाड्ने कार्यमा संलग्नसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ।

प्रहरीले नियन्त्रणमा लिएकामध्ये पर्साकोका जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालीम मियाका नाती, मृतक किशोरी आमा, बुबासमेत गरी ९ जना रहेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए।

घटना के भएको हो ? 
मृतक बालिका जयुनत खातुन जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालीमका कान्छा छोरा जाकीर मिया धुनियाकी आफ्नै साली हुन्। भारत घर भएकी उनी विगत केहि समयदेखि आफना दिदी भिनाजुसँग बस्दै आएकी थिइन्।

प्रहरी उपरीक्षक पाण्डेका अनुसार बिहीबार अपरान्ह वीरगन्जको मुर्लीस्थित कब्रस्तानमा ४/५ जना व्याक्तिले एक किशोरीको शव हतार हतारमा गाड्न लागेको सूचना प्रहरीलाई दिएका थिए। उक्त सूचना पाएर इलाका प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ ५ बजेतिर कब्रस्तानमा पुगेर खातुनको शव नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पाण्डेले बताए।

त्यसपछि वीरगन्जस्थित गाँउपालिका अध्यक्ष मियाको घरमा पुगेर प्रहरीले खानतलाशी गर्दा कोहि पनि पुरुष नभेटिएको पाण्डेले बताए। प्रहरी उपरीक्षक पाण्डेले भने ,‘मृतक किशोरीको घाटीमा नील डाम पनि देखिएको छ, तर प्रहरीलाई प्राप्त सूचनामा भने जालीमका कान्छो छोराले जबरजस्ति करणी गरेको र त्यसक्रममा अत्याधिक रक्तश्राव भएर उपचारका क्रममा खातुनको मृत्यु भएको भन्ने छ। ‘

किशोरीको मृत्युको कारण आत्महत्या हो वा जबरजस्ति करणीले हो भन्ने विषय यकिन भइ नसकेको  पाण्डेले बताए। पाण्डेले भने ,‘मृत्युको कारण शवको पोष्टमार्टमपछि मात्रै यकिन हुन्छ। ‘

असोज १० गते ती किशोरीको वीरगन्जस्थित प्रभु हस्पिटलमा लगेर उपचार गराएको अस्पतालको पूर्जी अभिभावकले देखाएकोले यस बारेमा पनि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताए।
प्रहरी नियन्त्रणमा रहेका मृतक किशोरीका अभिभावकले भने किशोरीको शरीरमा देखिएको दादको उपचार गर्ने क्रममा सेवन गरेको औषधिका कारण अत्याधिक रक्तस्राव भएको तर्क गरेका छन्।

प्रहरी उपरीक्षक पाण्डेले भने ,‘घटना निक्कै शंकास्पद देखिएको छ, मृतक किशोरीकै बुबा आमाले पनि केहि बोल्न मानिरहेका छैनन्, आरोपितहरु फरार छन्, प्रहरीले अनुसन्धान गरिरहेको छ।’
यसबारे प्रतिक्रिया लिन गाँउपालिका अध्यक्ष जालीमलाई उनको मोबाइलमा पटक पटक फोन गर्दा पनि उनि सम्पर्क आउन चाहेनन्। अन्नपूर्ण पोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय