रुपन्देही घटनाः सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार, एसपी सहित १९ सशस्त्र प्रहरी घाईते



रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको अतिक्रमित जग्गा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि  सुकुम्बासी समूहले दर्जनौं पेट्रोल बम प्रहार गरेपछि बाध्य भएर गोली चलाउनु परेको गृहमन्त्रालयले जनाएको छ । यो झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार औद्योगिक क्षेत्रको जग्गा भित्रभित्रै अतिक्रमण भएको सूचनापछि स्थानिय प्रशासनले खाली गराउने प्रयास गर्द सुरक्षाकर्मीमाथि नै बम प्रहार भएको हो । उनका अनुसार घटनास्थलमा रहेका सुरक्षाकर्मीले भिड तितरबितर गर्न हरसम्भव प्रयासगर्दा समेत उल्टो सुरक्षाकर्मीमाथि प्रहार भएको हो ।

घटनामा सशस्त्र प्रहरीका उपरीक्षक राजेश उप्रेतीको हातमा चोट लागेको छ । यस्तै उनीसहित १९ जना सशस्त्र प्रहरी घाईते भएका छन् ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले सुरक्षाकर्मीले प्रचलित नियम अनुसार भिड नियन्त्रणको प्रयासगर्दा समेत सम्भव नभएपछि आत्मरक्षाका लागि गोली चलाउन सुरक्षाकर्मीलाई बाध्य पारिएको बताए । उनले घटनाका बिषयमा मुख्यालयले समेत जानकारी संकलन गरिरहेको बताए ।

घाईते भएका सशस्त्र प्रहरीहरुमा सप्रउ उप्रेती, सशस्त्र प्रहरी हवल्दार, सहायक हवल्दार र जवानहरु डिल बहादुर घर्ति, दिपेन्द्र केसी, खुसिराम चौधरी, तिलबहादुर धामी, रुद्र बहादुर खत्री, जनकराज जोशी, रविन्द्र कुमार गौड, चुमानसिंह थापा, सन्तोष बस्नेत, ईन्द्रजित चौधरी, शम्भु कार्की, मनोज रावत, बसन्त जिसी, लोकनाथ खनाल,गणेश रावत, प्रेम विक, सुरज दयाल र कृष्ण बहादुर थापा रहेका छन् । उनीहरुको उपचार भइरहेको छ ।

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको हो।

आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

तिवारीले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको र गोली चलाउनु परेको दाबी गरे । तर स्थानीयले भने प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन् ।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतित्रमण भएको थियो । प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिदैं आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो ।

प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए। प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरु भत्काउँदै आएको थियो ।

यसअघि चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो । यही घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा भएको थियो । पर्दाफास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज