
जनकपुरधाम, २९ कात्तिक। जनकपुरको रुपैठामा दुई समुदायबीच देखिएको विवाद समाधानका लगि सोमबार ७ बुँदे सहमति भएको छ ।
हिन्दु तथा मुसलमान समुदायले एक अर्काको धर्म/कर्म, रितिरिवाज, परम्पराको उच्च सम्मान गर्नेसहितका ७ बुँदे सहमति भएपछि जनकपुरधाम उपमहानगरपालिका– २० रुपैठामा एक सतादेखि देखिएको तनाव साम्य भएको छ ।
उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, रुपैठाका स्थानीय अगुवाबीचको छलफलपछि ७ बुँदे सहमति भएको हो ।
रुपैठाको तेलिया पोखरी पोखरीको स्वामित्व उपमहानगरपालिकाको रहने र संरक्षण पनि उसैले गर्ने, हिन्दुहरुले छठ पर्व र मुसलमानले दाहाजस्ता पर्वमा सुरक्षा निकायलाई पूर्वजानकारी दिई पोखरीमा माटो नझारी मनाउने सहमति भएको छ ।
त्यस्तै पोखरीमा झण्डा लगायतका कुनै पनि संकेत चिह्नहरु नराख्ने, मुसलमान समुदायले त्यहाँ राखेको झण्डा अन्तै व्यवस्थापन गर्ने पनि सहमति भएको छ ।
अबदेखि दुबै पक्षले सञ्चार माध्यम, सामाजिक सञ्जाल वा अन्य कुनै पनि माध्यमबाट धार्मिक/सम्प्रदायिक सद्भाव बिगार्ने गरी भनाइ या विचार नराख्ने र पोखरीको विवाद समाधान गरी धार्मिक सम्प्रदायिक सद्भाव कायम गर्ने सहमति भएको छ ।
सद्भाव कायम राख्न र त्यस क्षेत्रको विकास निर्माणमा सहयोग पुर्याउन जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरको संयोजकत्वमा दुबै पक्षका ४/४ जना प्रतिनिधि रहने गरी ९ सदस्यीय समिति गठन गरिएको छ ।
सोमबारको सहमतिपछि पनि रुपैठामा निषेधाज्ञा भने कायमै राखिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार राति १० बजेसम्म निषेधाज्ञा लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले दुबै पक्षबीच सहमति भएपछि आधा सुरक्षाकर्मी फिर्ता बोलाइएको बताए । ‘सहमति भएपछि कडा रुपको निषेधाज्ञा रहँदैन’ उनले भने ।
हिन्दू समुदायले पोखरीमा छठ मनाउने क्रममा मुश्लिम समुदायसँग विवाद भएको थियो । त्यहीं विवादले शनिबार उग्र रुप लिएको थियो । दुबै पक्षबीच भएको झडपलाई रोक्न पुगेको ५ जना सुरक्षाकर्मी र एक महिला घाइते भएका थिए । त्यही घटनापछि स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको थियो ।