जनकपुरधाम, २९ कात्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत छात्रालाई साइकल वितरण गर्दा अनियमितता भएको बताएको छ ।
अख्तियारको बर्दिवासस्थित कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक अनुसन्धानका क्रममा साइकल खरिदमा अनियमितता देखिएको बताए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा साइकल खरिदमा अनियमितता देखिएको छ’ अनलाइनखबरसँग कुरा गर्दै सापकोटाले भने, ‘अब विस्तृत अनुसन्धान शुरु गरेका छौं ।’
विस्तृत अनुसन्धानका क्रममा अनियमितता देखिए विशेष अदालतमा मुद्दा दायर हुने उनले बताए । ‘प्रारम्भिकमा अनियमितता देखिएकाले हामी डिटेलमा अनुसन्धान गर्न लागेका छौं’ उनले भने, ‘यसपछि (भ्रष्टाचार) भए/नभएको बाहिर आउँछ ।’
यो गम्भीर बिषय पनि भएकाले विस्तृत रुपमै हेरिने भन्दै उनले विस्तृत अनुसन्धानका क्रममा अनियमितता देखिए अदालतमा मुद्दा दायर हुने र नभई तामेलीमा जाने बताए ।
साइकल खरिदमा अनियमितता देखिएको भन्दै अख्तियारको टोलीले १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारी साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो ।
अख्तियारले छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउतले विरोध जनाएका थिए भने उनको पार्टी जसपाले प्रदेशभरि आन्दोलन गरेको थियो ।