
सर्लाही – जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई माघ महिनाका लागि जिल्लाकै उत्कृष्ट प्रहरी घोषित गरिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईले सोमबार मधेश प्रदेश दंगा नियन्त्रण प्रहरी गण ४ नम्बर गुल्ममा दरबन्दी भएर ईलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत गिरीलाई सम्मानित गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार इन्स्पेक्टर गिरीले विभागीय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायीक, लगनशिल, कर्तव्यनिष्ट र उच्च मनोबलका साथ कार्यालय प्रमुखको हैसियत कार्य सम्पादन गरेको आधारमा उत्कृष्ट ठहर गरिएको जनाएको छ ।
प्रहरीका अनुसार इन्स्पेक्टर गिरीले ८ माघमा जिल्लाको बागमती पुलको बीचमा बा ८४ प ५९०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालकको मृत्यु भएको घटनाका फरारलाई घटना भएको २ घण्टा भित्रै पक्राउ गरेको जनाएको छ ।
यस्तै १४ माघमा हरिवन नगरपालिका ४ सासापुर स्थित पुर्व पश्चिम लोकमार्गको सडक खण्डमा ना ७ ख ६३९ नं। को सपना डिलक्स रात्री बसले पैदल यात्रीलाई ठक्कर दिई मृत्यु भएको हुँदा उक्त बस चालक फरार रहेकोमा २४ घण्टा भित्रै चालकलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याएका थिए ।
इन्स्पेक्टर गिरीको कमाण्डमा मोटरसाइकल चोरी नियन्त्रणको लागी प्रहरी परिचालन गरी नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा ७ वटा बरामद गरी सम्बद्ध यातायात कार्यालय संग समन्वय गरी वास्तविक नम्बर र धनि एकिन गरि बुझाएका थिए ।
यस्तै ईप्रका हरिवनकै सक्रियतामा सर्लाही जिल्ला अदालतको विभिन्न मुद्दामा कैद जरिवाना लागि फरार रहेका ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरि कैद जरिवाना असुल उपरको लागी अदालतमा दाखिला गरेको छ ।
यस्तै आफ्नो ईलाका क्षेत्रमा जुवा खेल्ने खेलाउने र लागूऔषधका कारोबारी बिरुद्धको कारबाही चलाएर इन्स्पेक्टर गिरीले शन्ति व्यवस्था कायम गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।