काठमाण्डौं: सत्ता गठबन्धनका माओवादी केन्द्र र जसपाको संरक्षणमा चिनियाँ कम्पनीले तराई मधेसमा रजाइँ गरेको खुलेको छ ।लाखौं नागरिक प्राकृतिक विपत्तिको जोखिममा पर्नेगरी चिनियाँ कम्पनीले विकासका नाममा चुरे दोहन गरिरहेको खुलेको हो ।
मधेसको लाइफलाइन मानिने चुरे मासिनेगरी चिनियाँ कम्पनीले कमला नदीमा ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन् गरेको पाइएको छ । अवैध उत्खननमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिकै मिलेमतो भएकोसमेत पाइएको छ ।माओवादीबाट निर्वाचित जनप्रतिनिधिको संरक्षणमा चिनियाँ कम्पनीले स्थानीय प्रशासनलाई समेत अटेर गरी कमला नदीबाट मापदण्ड विपरीत अवैध उत्खनन् गरेपछि जिल्ला प्रहरी कार्यालयले एक्सन लिएको छ ।
कमला अवैध उत्खनन् गर्ने चिनियाँ कम्पनी हो चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रप ।मधेसमा पूर्वपश्चिम राजमार्ग विस्तार गरेर चार लेन बनाउने ठेक्का पाएको कम्पनीले अनुमतिबिनै माओवादीका जनप्रतिनिधिको आडमा कमलामा ढुंगा–गिट्टीको अवैध उत्खनन गरेको हो । स्थानीयको चर्को गुनासोपछि जिल्ला प्रहरी कार्यालय धनुषाले नदीजन्य पदार्थको उत्खनन र ढुवानीमा प्रयोग गरिएका गाडी र उपकरणहरू नियन्त्रणमा लिएको छ ।
धनुषा प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले गणेशमान चारनाथ–५ स्थित कमला खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा सात टिपर र एक्स्काभेटर नियन्त्रणमा लिइएको बताए । चालकहरु भने पहिल्यै भागेका थिए । चिनियाँ कम्पनीले कमलाबाट अवैध उत्खनन गरेर सिरहाको कर्जन्हास्थित यार्डमा ढुंगा–गिट्टी थुपारिरहेको थियो । कर्जन्हा नगरपालिकाको मेयर र उपमेयर दुबै माओवादी केन्द्रका हुन् ।यो २०७० सालमा माओवादी अध्यक्ष प्रचण्डले चुनाव जितेको क्षेत्र हो ।
केन्द्रमा प्रचण्ड र यहाँ जनप्रतिनिधिको संरक्षणमा चिनियाँ कम्पनीले चुरे नै नास हुने र मधेस संकटमा पर्नेगरी अवैध उत्खनन गरिरहेका छन् । अहिले स्थानीयको चर्को दबाबमा प्रहरीले एक्सन लिएपछि चिनियाँ कम्पनी जोगाउन माओवादी जनप्रतिनिधि लागेका छन् ।प्रहरी स्रोतकाअनुसार प्रहरीले समातेको गाडी र मेसिनमा कर्जन्हाकी उपमेयर ज्ञानु श्रेष्ठको गाडी पनि परेको छ । उनलाई अघि सारेर चिनियाँ कम्पनीले टिपर र एक्स्काभेटर छाड्न प्रहरीमाथि दबाब बढाएको छ ।
जिल्ला समन्वय समिति धनुषाले पनि अवैध उत्खनन गर्ने चिनियाँ कम्पनीमाथि कारवाही प्रक्रिया अगाडि बढाउने बताएको छ ।