
काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी रोक्न उत्तरी छिमेकी चीनले निकै प्रयास गर्यो । राजदूत, चिनियाँ कम्युनिस्ट पार्टीका विभिन्न तहका नेताको दौडधुपका बीच केही दिनअघि बेइजिङ (चिनियाँ विदेश मन्त्रालय) आफै अघि परयो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा अमेरिकाले धम्कीपूर्ण कुटनीति सुरु गरेको त्यसको चीनले प्रतिकार गर्ने चेतावनी दिए । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाली नेताहरुलाई टेलिफोन गरेर एमसीसी के हुन्छ भनेर राखेको जिज्ञासालाई चीनले धम्कीपूर्ण कुटनीति भनेर एमसीसी रोक्ने प्रचारबाजीका रुपमा उपयोग गर्यो ।
साथै नेपाललाई जोडेर अमेरिकासँग वाकयुद्धमै उत्रियो । चीनले यति गर्दा पनि एमसीसी टेबल भएरै छोड्यो । एमसीसी टेबल भएपछि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले चीनलाई जवाफ फर्काएको छ ।
कांग्रेसले नेपालको चिन्ता नगर्न चीनलाई चेतावनी दिएको छ भने नेपाललाई कसैले दबाब नदिएको र आफ्नो निर्णय गर्न समक्ष रहेको जवाफ फर्काएको हो ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गरेर अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले एमसीसी सम्झौता ढिलाईबारे चासो राख्नु स्वभाविक भएको र यसलाई अन्तर्राष्ट्रिय इस्यु बनाउन नहुने बताए । ‘हामीलाई कसैको दबाब आएको छैन ।
अमेरिकी सरकारका तर्फबाट ‘तपाइहरुले मागेको, अनुमोदन गरेको एमसीसी सम्झौता पाँच वर्ष वितिसक्यो । अनिर्णय र विवादित भएको छ । यसलाई चाडो टुंगो लगाइदिनुपर्यो । अरु देशबाट माग आएको छ ।हामीले विशुद्ध सहयोग गर्न खोजेको हो, यसलाई अनावशयक विवादित बनाइदिँदा अफ्ठेरो पर्यो भन्नु अस्वभाविक होइन,’ उनले भने, ‘किनभने एमसीसीलाई नेपाली राजनीतिले गिजोलेको हो । हामीले समयमै निर्णय दिनुपर्छ । यसलाई दबाबको रुपमा लिएका छैनौं ।’
एमसीसी अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा विवाद/बहस छेडिनुमा कम्युनिस्टहरुले सत्तामा बसेर समयमै निर्णय नगर्दाको परिणाम भएको उनको भनाइ छ । ‘अब समयमै निर्णय दिनुपर्छ,’ उनले भने । कम्युनिस्टहरुका कारण नेपालमा अपरिपक्व राजनीतिक खेल भएको भन्दै महतले थपे, ‘अमेरिका र चीनबीच विवाद निम्त्याउने काम भयो । विकास योजनालाई अत्यधिक राजनीतिक गरियो । एमसीसी जतिसक्दो चाँडो पास गर्नुपर्छ । भ्रमको अन्त्य गर्नुपर्छ ।’