काठमाण्डौ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी गाउँमा भोट माग्न मात्र नजाने बताएका छन् । २९ फागुनबाट एक महिने अभियानसहित गाउँगाउँ जान लागेको कांग्रेस भोट माग्न मात्र नभएर निर्वाचनमा सहभागी हुन सबैलाई अपिल गर्न जान लागेको उनले बताए ।
पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेस भोट माग्न मात्र जाँदैन, सबैलाई निर्वाचनमा सहभागी हुन अपिल गर्न जान्छ । पार्टीपंक्तिलाई निर्वाचन आचारसंहिता पालना गर्न उत्प्रेरित गर्न जान्छ । जनताको कुराको सुन्न जान्छ ।’
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमा एमाले अध्यक्ष केपी ओलीले मतपत्रमा चुनाव चिह्नको रङ हरियो राख्न थालेकोमा कांग्रेसप्रति कटाक्ष गरेका थिए । यस विषयमा पत्रकारले राखेको जिज्ञासामा महामन्त्री शर्माले भने, ‘अहिले एउटा उखान चलेको छ । विभाजित कम्युनिष्ट पार्टी हेरियो देख्दा तर्सिन्छ रे ।’
उनले भने, ‘ एउटा उखान चर्चामा छ, साउनमा आँखा फुटेको केले ९गोरु०ले सधै हरियो देख्छ। अहिलेको परिस्थितिमा पार्टी विभाजित भएको कम्युनिस्ट पार्टी हरियो रङदेखि तर्सिन्छ भन्ने नयाँ उखान सुरु भएको छ। कसैले तर्सिनुपर्दैन । स्वस्थ प्रतिस्पर्धामा जाने हो। कांग्रेस मतदातालाई मत माग्न गएको हो । निर्वाचनमा सहभागी हुन अपिल गर्ने हो ।’
विभाजनले कमजोर बनेका कम्युनिस्टहरु हरियो रङसँग पनि तर्सिन थालेको उनको भनाइ थियो। मतपत्र र चुनाव चिन्हको रङ निर्वाचन आयोगले छनोट गर्ने भन्दै यो राजनीतिक दलको अधिकारको विषय नभएको पनि प्रष्ट पा रे।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले हरियो रङमा आपत्ति नजनाउन एमालेलाई आग्रह गरे । उनले भने, ‘हरियो रङमा नै आपत्ति हुने हो भने त नेपालको सारा वनजंगल नै फाँड्नुपर्ने हुन्छ। हामी मत माग्न र मतदातालाई निर्वाचनमा सहभागी हुन अपिलका लागि गाउँ गाउँ जाने हो ।’
मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रममा हरियो रङमाथि प्रश्न उठाएका ओलीले बुधबार मोरङको रंगेली पुगेर बुढो रुखलाई बचाउन मतपत्र हरियो बनाउन खोजिएको र कांग्रेससँग निर्वाचन आयोग झुकेको आरोप लगाएका छन् ।