
वीरगंज – पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले बुधबार पदभार ग्रहण गरेका छन्। ।
आफ्ना समर्थकहरुको साथमा गाउँपालिका प्रवेश गर्नु भएका उहाँलाई कर्मचारीहरुले भब्य स्वागत गरेका थिए । कर्मचारीको स्वागत पश्चात् कार्यकक्षमा प्रवेश गरि उहाँले कार्यभार सम्हाल्नु भएको हो । अध्यक्ष गुप्तालाई नि.प्रमुख प्रशासकिय अधिकृत शम्भु साह लगायतले स्वागत गरेका थिए।
सोमबार प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलबाट पद तथा गोपनीयताको शपथ खाएपछि पालिका उपाध्यक्ष सहितको अन्य नवनिर्वाचित जनप्रतिनिधीहरुलाई शपथ खुवाएका नवनिर्वाचित अध्यक्ष गुप्ताले बुधबार गाँउपालिकाको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन।
गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालेसँगै गुप्ताले गाउँपालिकाबासीले आफूलाई विश्वास गरेर दोस्रो पटक पनि निर्वाचित गरेको बताए। गुप्ताले भने ‘अहिले जनताले मलाई विश्वास गरेका छन्। त्यसैले सधै जनताको पक्षमा काम गर्ने छु ।
अध्यक्ष गुप्ता एमालेबाट उम्मेदवार बनेर ४ हजार १ सय ८८ मत प्राप्त गरि पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्दी जसपाको तर्फबाट इन्द्रासन साह कलवारले ३ हजार ८ सय ६८ मत ल्याएका थिए ।