धर्मेन्द्र प्रसाद यादव -भिस्वा २६ असार । पर्साको छिपहरमाई गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरेपछि घोषणा गरिएको हो ।
पूर्ण खोप घोषणाका लागि जन्मै देखि २३ महिनासम्मका सबै बालबालिकालाई २३महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप अनिवार्य दिनुपर्छ । गाउँपालिकाका सबै वडा पूर्ण खोप सुनिश्चित घोषणा भईसकेपछि सनिबार पालिकालाई एक कार्यक्रम बिच पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।
छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताले सबैको सहयोग र सहकार्यले गाउँपालिकालाई पूर्ण खोप घोषणा गर्न सम्भव भएको बताए । छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताले महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ्यकर्मी लाई धन्यवाद व्यक्त गरेका थिए l गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि बार्षिक रुपमा करोडौं बजेट खर्च गर्दै आएको जानकारी गराउँदै उनले महिला स्वास्थ्य स्वयं सेविकाको योगदानलाई कदर गर्दै सेवा, सुबिधा दिइरहेको बताए । गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको अध्यक्ष गुप्ताले जोड दिए ।
छिपहरमाई गाउँपालिकाका स्वास्थ्य संयोजक सम्भु साहका अनुसार दुई बर्ष मुनिका बालबालिकाहरुले पाउनुपर्ने सबै खोप पाए नपाएको अनुगमन गरेर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो।
दुई बर्ष मुनिका बालबालिकाहरुलाई विभिन्न रोगबाट बचाउनका लागि बिसीजी, डिपीटी हेबबिहिब, रोटा, पोलियो, पीसीभी,एफ.आई. पी. भी ,जे .ई ,दादुरा–रुबेला लगायतका खोप लगाउने गरिन्छ। पालिकाका सबै बालबालिकाहरुले यी सबै खोप पाएकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको साहले जानकारी दिए।