धर्मेन्द्र प्रसाद यादव / बीरगंज – जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले २४७ केजी लागुऔषध गाँजासहित मालबाहक ट्रक पक्राउ गरेको छ ।
ठूलो परिमाणमा लागुऔषध गाँजा कन्टेनर ट्रकमा लोड गरी हेटौँडाबाट पर्सा हुँदै भारततर्फ लैजान लागेको भन्ने सूचना प्राप्त जिल्ला प्रहरी कार्यालय पर्सा मा प्राप्त भएपछी मातहत रहेको स्रिशिया ड्राइपोर्ट चौकीबाट सई संतोष कुमार गोलेको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त ट्रक पक्राउ गरेको हो ।
प्रहरीबाट विगत २४ घण्टादेखि भएको निरन्तर निगरानी, सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा पर्सा बीरगञ्ज महानगरपालिका वडा नं २५ ICP गेटनजिक जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले HR55M 2209 नम्बरको भारतीय कन्टेनर ट्रकलाई रोक्न खोज्दा गाडी रोकी स्टार्ट अवस्थामा चालक फरार भएका थिए ।
उक्त ट्रकको कन्टेनरको च्याम्बर खोली जाँच गर्दा रातो प्लाष्टिकमा बेरेर प्याकेट गरिएको अवस्थामा राखिएको २३ वटा पोकाभित्र २४७ केजी लागुऔषध गाँजा फेला परेकोले सो ट्रकलाई उल्लेखित गाँजासहित बरामद गरी लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी ओम प्रकाश खनालले बताएका छन।
साथै उल्लेखित ट्रकको सवारीधनी तथा चालकको तदारूकताका साथ खोजतलास भइरहेको पर्सा प्रहरी जनाएको छ ।