२०७९ श्रावण ६, शुक्रबार १०:१२ बजे

मनोज यादव – सर्लाही, ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सोही अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीले पनि जिल्लाको इश्वरपुर नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरि ४० औं विपी स्मृति दिवस मनाइएको छ।

आज(शुक्रबार)बिहान नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीका कार्यवाहक सभापति डा.सरोज कुमार यादवको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि महामानव विपीको योगदान र उनले अपनाएको मेलमिलापको नीतिको विषयमा चर्चा गरिएको छ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृतिहरु प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ ६ वटा उपन्यासहरु प्रकाशित भएका छन् । त्यसैगरी दुईवटा कथा संग्रहहरु ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’हरु प्रकाशित छन् । वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।

जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी विसं २०१५ को आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे ।

प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

इश्वर नपा-३ भक्तिपुरमा आयोजना भएको उक्त अन्तरक्रिया कार्यक्रम पश्चात् कार्यवाहक जिल्ला सभापति डा.यादवको अगुवाइमा दिवस मनाउन सहभागी भएका पार्टीका जिल्ला सचिव निरज कार्की,स-सचिव इन्द्र योन्जन,इश्वरपुर नगरपालिका नगरप्रमुख मनोज आचार्य,विशिष्ठ अतिथि नेका सर्लाही क्षेत्र न १ का नेता कुबेर आचार्य,दिपक अधिकारी,सुरेन्द्र न्यौपाने,मधेश प्रदेश सदस्य सोनी बम्जन, रामबाबु साह लगायत पार्टीसँग आवद्ध नेता कार्यकर्ताहरुले विपीको सम्झनामा सोही वडा स्थित दुर्गा मन्दिरको पछाडि रहेको पार्कमा विभिन्न जातका ४० वटा भन्दाबढी बिरुवाहरु रोपेर वृक्षरोपण समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय