
भैरहवा । भैरहवामा भन्सार छलेर नेपाल भित्र्याइँदै गरेको ९ लाख ८० हजार रुपैयाँबराबरको तयारी कपडा र ढुवानीमा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको छ ।
भैरहवा भन्सार कार्यालयको गस्ती टोलीले बिहीबार राति भैरहवा–लुम्बिनी सडकखण्डमा पर्ने रुपन्देहीको बनगाइ भन्ने ठाउँबाट कपडा, लु १ ज ४४६२ नम्बरको पीकअप गाडी र चालकलाई पक्राउ गरेको हो ।गाडीको मूल्य २० लाख रुपैयाँ बिगो कायम गरिएको छ । ढुवानी गर्दै गरेका चालक पनि पक्राउ परेका छन् ।
भैरहवा भन्सार कार्यालयका अधिकृत तथा सूचना अधिकारी तीर्थराज पासवानका अनुसार, पक्राउ गरिएको कपडा बच्चा, महिला र पुरुषको विभिन्न तयारी कपडा छन् । पक्राउ परेका गाडी चालक रुपन्देहीको सियारी गाउँपालिका–२ सेमराका २८ वर्षीय राजकुमार केवट हुन् । उनको बयान लिने क्रम जारी छ ।
रुपन्देहीको मर्चवार क्षेत्रअर्न्तगत पर्ने बगौली नाका हुँदै उक्त कपडा नेपाल भित्र्याएको र बुटवलको एक होटेलमा आफूलाई पुर्याउने जिम्मा पाएको केवटले प्रारम्भिक बयान दिएको भैरहवा भन्सार कार्यालयको मुद्दा शाखाका नासु मदन जैसीले बताए ।
भैरहवा भन्सार कार्यालयको गस्ती टोलीले गत साउन १ गते पनि बुटवलको राम मन्दिर लाइनमा लु २ च ९९९७ नम्बरको पीकअप गाडीबाट भन्सार छलेर भित्र्याइएको कपडा अनलोड गरिरहेको अवस्थामा ९ लाख ७२ हजार रुपैयाँ मुल्य बराबरको तयारी कपडा बरामद गरेको थियो । सूचना अधिकृत पासवानले भन्सार गस्ती टोलीलाई देख्नासाथ कपडा अनलोड गरिरहेका व्यक्ति भागेको र ढुवानीमा प्रयोग भएको गाडीको बिगो रकम १५ लाख ५१ हजार राखिएको बताए ।