एसपी नजाँदा डीएसपीको मनपरीः मेयरसँग घुस असुली, वडाध्यक्षबिरुद्ध पक्राउ पूर्जी



बारा । नेपाल प्रहरीमा तल्लो दर्जाका प्रहरी सरुवा बढुवामा समेत बालुवाटारको हस्तक्षेप हुँदैआएको छ । प्रहरी नायब निरीक्षक (सई) दर्जाका लेखापालको सरुवामा समेत बालुवाटारले प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासनमा सूची नै पठाएको समाचार आउने गर्दछ । प्रहरी निरीक्षकदेखि एआइजीसम्मको सरुवामा बालुवाटारको हस्तक्षेपका कारण प्रहरीभित्र चरम असन्तुष्टि छ ।

यसैक्रममा गएको साउन ८ मा प्रहरीमा ७ जिल्ला प्रमुखसहित ११ एसपीको काज सरुवा भएको थियो । केही एसपीबाट एसएसपी बढुवा भएको र केहीको एक बर्ष अवधि पुगेकाले ७ वटा जिल्लाका प्रमुख रिक्त भएका थिए । ७ जिल्लामा एसपी रिक्त भए पनि बालु्वाटारले टेण्डर आह्वान गरेकाले सरुवामा बिलम्ब हुन पुगेको थियो । कास्की, रौतहट, सुनसरी, बारा, कपिलवस्तु सहितका जिल्लाको अलग अलग रेट तय गरी मोलतोल गर्ने क्रममा काज सरुवा ढिलो हुन पगुेको थियो ।

प्रसंग बाराको हो । जिल्ला प्रहरी कार्यालय बाराको एसपीका लागि पनि हानथाप भयो । बालुवाटारमा रहेको ओपेरा होटलमा बाराको एसपीका लागि ५० लाखसम्मको स्टीमेट निकाली टेण्डर निकालिएको थियो । तर बारामा जान कसैले पनि ओपेराको स्टीमेट अनुसार बुझाउन तयार नभएपछि बालुवाटारले नाम दिन सकेन । अन्ततः आइजीपी धिरजप्रताप सिंहले आफ्नै सचिवालयमा कार्यरत एसपी होविन्द्र बोगटीलाई बाराको प्रहरी प्रमुखका रुपमा काजसरुवा गरेका छन् ।

बोगटीको काजसरुवा गरेता पनि उनी ८ दिनसम्म पनि बारामा कमाण्ड सम्हाल्न गएका छैनन् । डेढ महिनादेखि बारामा निमित्त प्रहरी प्रमुखको कमाण्ड डीएसपी राजेश थापाले सम्हाल्दैआएका छन् । थापा एसपी बढुवा हुने रोलक्रममा थिए । तर विगतमा उनको रेकर्ड राम्रो नभएकाले उनी बढुवामा पर्न सकेनन् ।

आफ्नो बढुवा नभएपछि उनी असन्तुष्ट हुनु स्वभाविक हो । एसपी नभएको र आफू नै निमित्त प्रमुख भएको मौकाको उपयोग गर्दै उनले एकपछि अर्को आर्थिक चलखेलका काम गरेको आरोप छ । उनले बाराका सबै चौकीका इन्चार्ज परिवर्तन गरेका छन् । दररेट अनुसार आर्थिक संकलन गरी उनले सबै चौकीका इन्चार्ज हेरफेर गरेको आरोप छ ।

तत्कालीन एसपी दिलीपसिंह देउवाले डेढ महिनाअघि मात्र खटाएका चौकी इन्चार्जलाई परिवर्तन गरी उनले नयाँ इन्चार्ज पठाएका छन् । देउवाले डेढ महिनाअघि मात्र खटाएकाहरु मारमा परेका छन् । देउवालाई समेत साम दाम बुझाएर गएकाहरु डेढ महिनामै तानिनुपरेको गुनासो बाराका सत्तापक्षीय नेताहरुसँग गरिरहेका छन् । कांग्रेसको नेता भन्दै प्रहरी कार्यालयमा बिचौलियाको काम गर्ने लोकेस सिंहले नयाँ एसपी आएपछि मिलाउँला भन्दै उनीहरुलाई थुमथुम्याइरहेका छन् ।

आर्थिक रुपमा विवादित डीएसपी थापाले बारामा गाँजा तस्करीको लाइन समेत संचालन गरेको आरोप छ । अबैध मदिराको कारोबार खुलारुपमा संचालन गर्न दिनेदेखि जुवा अखाडा समेत उनले चलाएको आरोप छ । घुस संकलन अभियानलाई रफ्तारमा अगाडि बढाएका उनले जिल्लामा हुने सामान्य घरायसी विवादमा अभद्र ब्यवहारको मुद्दा दर्ता गर्ने र थुनामा राखी प्रताडित गर्ने कार्य गरिरहेका छन् ।
१ महिनाअघि बाराको महागढीमाई नगरपालिकाको नगरसभामा नगर प्रमुख उपेन्द्रप्रसाद यादव र वडाध्यक्षहरुबीच भएको सामान्य भनाभनलाई अभद्र ब्यवहारको मुद्दा दर्ता गरेका छन् । र, वडाध्यक्षका बिरुद्ध पक्राउ पूर्जी जारी गरेका छन् । नगरसभामा भनाभन भएको एक महिनापछि मेयरसँग घुस लिई वडाध्यक्षबिरुद्ध पक्राउ पूर्जी जारी गरेको आरोप डीएसपी थापालाई लागेको छ ।

केही महिनाअघि बारा प्रहरीका प्रमुख दिलीपसिंह देउवाले अनियमितता गरेको गुनासोपछि प्रहरी प्रधान कार्यालयबाट छानबिन टोली गएको थियो । टोली बारामा गएर स्थलगत रुपमा अध्ययन गर्दा देउवाको नाममा डीएसपी थापाले अनियमितता गरेको खुलेको थियो । थापाले एसपीको नाममा बदमासी गरेको खुलेपछि देउवामाथि कुनै कारबाही नगरी टोली फर्केको थियो ।

थापाको विवादित पृष्ठभूमि

डीएसपी राजेश थापा महानगरीय प्रहरी वृत्त जगातीको प्रमुख हुँदा भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनापछि रकम असुलेको आरोपमा विभागीय कारबाहीमा परेका थिए । मोटरसाइकल दुर्घटनापछि रकम असुलेको आरोपमा डीएसपी थापासहित प्रहरी निरीक्षक सानु तामाङ र प्रहरी नायब निरीक्षक (सई) विक्रम सेनलाई प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही गरेको थियो । प्रहरी निरीक्षक र सईलाई जगाती वृत्तबाट हटाएर एक वर्षसम्म बढुवा रोक्का गरिएको छ । डीएसपीलाई भने प्रहरी प्रधान कार्यलयमा रेकर्ड रहनेगरी नसियत दिएको थियो ।

उक्त सवारी दुर्घटनामा डीएसपी थापाको लोभका कारण प्रहरी निरीक्षक र सईले समेत कारबाही भोग्नुपरेको थियो ।
इलाका प्रहरी कार्यालय लहानमा हुँदा पनि थापा राम्रो काम गर्न नसकेकै कारण अवधि पूरा हुनुअघि नै तानिएका थिए । सभार :नेपालफेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज