
राजविराज । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) मसउद आलम खाँले मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, सम्पर्क कार्यालय राजबिराजको निरीक्षण गरेका छन् ।

डीआईजी खाँले निरीक्षण क्रममा आन्तरिक प्रशिक्षण कक्ष , पुस्तकालय, प्राथमिक उपचार कक्ष , व्यारेक , मेस तथा अन्य प्रशिक्षण गतिबिधिहरु र प्रहरी जवान (५-०३) औँ समुहका प्रशिक्षार्थीहरुको सामुहिक कवाज समेत अवलोकन गर्नुभयो ।






उनले तालिम केन्द्रमा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारी र प्रशिक्षार्थीसमेतलाई विभिन्न निर्देशन दिए । तालिम केन्द्र नै प्रहरी उत्पादनको मुख्य उद्गमस्थल भएकोले दक्ष प्रहरी जनशक्ति उत्पादनका लागि समादेशक लगायत प्रशिक्षकले वैज्ञानिक ढङ्गबाट प्रशिक्षण दिनुपर्नेमा डीआईजी खाँको जोड छ ।

प्रशिक्षार्थीले तालिममा सिकेका ज्ञानलाई कार्यक्षेत्रमा अक्षरस पालना गर्नुपर्ने उनले बताए ।

मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर ,सम्पर्क कार्यालय राजविराजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी ) रविन्द्र केसी लगायतका अधिकृत र प्रहरी कर्मचारी उपस्थित थिए ।

