२०७९ श्रावण २०, शुक्रबार ०२:४३ बजे

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा एकैपटक बढुवा भएका बाबु–छोराले दर्ज्यानी चिह्न लगाएका छन् ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएका ६३ जनाले बिहीबार दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।



तीमध्ये दुईजना राजेन्द्र अधिकारी र उनका छोरा ध्रुव अधिकारी छन् । राजेन्द्र जनपदतर्फ र छोरा प्राविधिकतर्फबाट डीएसपीमा बढुवा भएका हुन् ।

राजेन्द्रले २०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई) नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए भने ध्रुव चाहिँ २०७५ सालमा प्राविधिकतर्फ इञ्जिनियर इन्सपेक्टरमा भर्ना भएका हुन् ।

ध्रुवका बुबा राजेन्द्र २०५७ सालमा सई र २०६७ सालमा इन्सपेक्टरमा बढुवा भएका थिए । बुबाभन्दा २४ वर्षपछि प्रहरीमा भर्ना भए पनि प्राविधिकतर्फ सिट खाली भएकाले ध्रुवलाई बुबासँगै डीएसपीमा बढुवा हुने अवसर मिलेको हो ।

राजेन्द्र इन्सपेक्टर हुँदा पनि ध्रुव प्रहरीमा प्रवेश गरेकै थिएनन्। त्यसको ८ वर्षपछि मात्रै उनी प्रहरी सेवामा प्रवेश गरे। २४ वर्षको अन्तरालमा भर्ना भएका बाबु छोरा एकैदिन एकै पदमा बढुवा हुनुको मुख्य कारण हो फरक फरक क्षेत्र । प्रहरीका प्राविधिक समूहमा छिटो बढुवा हुन्छ ।

जनपद प्रहरीतर्फ एउटै पदमा १० वर्ष बस्नुपर्छ । तर प्राविधिकतर्फ एउटै दर्जामा लामो समय रहनु पर्ने बाध्यता छैन । ‘इन्जिनियरिङ’ क्षेत्रबाट प्रहरीमा प्रवेश गरेका ध्रुव यहि कारण छिटो बढुवा भएका हुन् । सेवामा प्रवेश गरेको ४ वर्षमै बढुवा हुँदा बाबुछोरा एउटै दर्जामा एकै दिन पुगे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय