
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ ।
आज बिहान देशभर सामान्य बदली रहेको छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, प्रदेश-१, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
शनिबार राति भने बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुनेछ । साथै बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुने भएको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।