काठमाडौं । ‘मैले ग्रास रूटदेखि नम्बर टु भएर काम गरेको छु । अहिलेसम्म नम्बर वान भएर काम गर्न पाएको छैन् । मलाई कुनै कुराको लोभ छैन् । नम्बर वान म्यान भएँ भने लोभलालच नभएको, कुनै स्वार्थ नभएको नेता ठाउँमा पुग्यो भने उसले गर्न सक्छ भनेर पुष्टि गर्छु, म काम गरेर देखाउँछु ।’ यो भनाइ हो, नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको ।
सरकारले मंसिर ४ गतेका लागि प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन घोषणा गरेलगत्तै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाहना राख्दै पूर्वमहामन्त्री सिंहले पार्टी नेता तथा कार्यकर्तालाई सो कुरा सुनाएका हुन् ।
सरकारको उप्रप्रधानमन्त्रीदेखि पार्टी उपसभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका सिंहले कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा गरे ।
तर, पार्टी नेतृत्वमा पुग्न असफल भए पनि काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्य रहेका सिंहले आगामी निर्वाचनबाट फेरि अनुमोदित हुँदै प्रधानमन्त्री बनेर देश र जनताको पक्षमा निःस्वार्थ रूपमा काम गर्ने बताएका हुन् । नागरिक दैनिकबाट