२०७८ श्रावण १०, आईतवार १५:०० बजे

 

बिरगंज , १० साउन  । बिरगंज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको अवसरमा प्रदेश २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

संघका अध्यक्ष सुबोधकुमार गुप्ताले स्वागत मन्तव्यको क्रममा हाल कायम रहेको शान्ति सुव्यवस्थालाई स्थायित्वको लागि आग्रह गर्नुभयो । उहाँले कोभिड १९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै संघले आफ्नो सक्रियतामा नारायणी अस्पतालमा बाल सघन चिकित्सा इकाईको निर्माण सम्पन्न गरेको र हाल उक्त इकाईबाट प्रभावकारी स्वास्थ्य सेवा प्रदान भई रहेको जानकारी गराउनुभयो ।

त्यस्तै उहाँले बिरगंज नगरभरि विस्तारित सिसिटिभी परियोजनाको लागि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने, औद्योगिक कोरिडोरको सुरक्षाको लागि औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्नुपर्ने, औद्योगिक कोरिडोरको लागि केमिकलयुक्त वारुणयन्त्रको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिनुभयो ।

प्रदेश नं. २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले अपराधीहरु एडभान्सड र प्रविधिमय भई सकेकोले अपराध न्यूनीकरणको लागि घटनास्थलमा प्रहरी उपस्थित भई अपराध अनुसन्धान गर्नुपर्ने पूरातन अवधारणालाई त्यागी स्मार्ट पुलिसिङ्गको धारणा अनुरुप प्रहरी प्रविधिमय हुनुपर्नेमा जोड दिनुभयो र नेपाल प्रहरी पनि प्रविधिमैत्री हुँदै गइरहेको कुरा बताउनुभयो । वीउवासंघले आफ्नो अगुवाईमा सारेको सिसिटिभी परियोजनाले अपराध अनुसन्धानमा सहयोगी सिद्ध भएकोले सिसिटिभी परियोजनाको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य सङ्घ–प्रदेश नं. २ का अध्यक्ष तथा वीउवासंघका पूर्व अध्यक्ष गणेशप्रसाद लाठ तथा पूर्व अध्यक्ष अशोककुमार वैधले बिरगंज –रक्सौल नाकाबाट हुने सर्वसाधारणको आवागमनमा सहजता प्रदान गर्नको लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनाल, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक राजेशराज पुरी, श्रीपुरका प्रहरी निरिक्षक दिनेश गौतम, सङ्घका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोज कुमार दास लगायत सङ्घका पदाधिकारी तथा कार्यसमिती सदस्यहरुको उपस्थिति रहेको थियो । सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय