
जनकपुरधाम । सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका मुख्य योजनाकार सञ्जय कुमार साहलाई जिल्लाले गरेको जन्मकैदको फैसलालाई उच्च अदालत जनकपुरले सदर गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सिंघानिया हत्याका योजनाकार पूर्वराज्यमन्त्री साह र सुटर मनक लामालाई जन्मकैदको फैसला सुनाएको हो ।
२०६६ फागुन १७ मा होली पर्वको दिन जनकपुर टुडेका प्रकाशनका सञ्चालक सिंघानियालाई जनकपुरको शिवचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो । सिंघानिया हत्याका बेला साह भौतिक पूर्वाधार राज्यमन्त्री थिए ।
उच्च अदालतको इजलास नं.३ मा आठदिन चलेको बहस सुनुवाई पश्चात बुधबार उच्च अदालतले यस्तो आदेश गरेको हो । न्यायधीश द्वय प्रमोद कुमार श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले जिल्लाको फैसलालाई नै सदर हुने गरी आदेश दिएको हो ।
सो मुद्दामा २०७६ साल असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो । साहले सोही फैसलामा असन्तुष्टि जनाउँदै ०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेको थियो ।