
काठमाडौं । उपप्रधानमन्त्री रवि लामिछाने नेतृत्वको गृहमन्त्रालयले बिहीबार सुरक्षा निकायका उच्च पदाधिकारीलाई राजनीतिक नेता र कूटनीतिक नियोगका अधिकारीसँग भेट्न जाँदा विभागीय स्वीकृति लिनैपर्ने निर्देशन जारी ग¥यो । तर गृहमन्त्रीको निर्देशनले पनि दूताबासमा सुटुक्क जाने क्रम रोकिन नसकेको खुलासा भएको छ । गृहमन्त्रालयले बिहीबार निर्देशन जारी गरेको केही घन्टा नबित्दै नेपाल प्रहरीका एक डीआइजी भारतीय दूताबासमा गएको खुलेको छ ।
गृहको निर्देशन अनुसार स्वीकृति नै नलिई डीआइजी श्याम ज्ञवाली सुटुक्क भारतीय दूताबासको सेक्युरिटी विङ्सका फष्ट सेक्रेटरी नेहा पाण्डेसँग भेट्न पुगेको स्रोतले बताएको छ । स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय (एयरपोर्ट) का प्रमुख डीआइजी ज्ञवाली बिहीबार अपराह्न ४.१५ मा भारतीय दूताबासमा पाण्डेलाई भेट्न पुगेका थिए ।
गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बिहीबार राजनीतिक नेतृत्व र कूटनीतिक नियोगमा भेटघाट गर्न जानुअघि स्पष्ट प्रयोजन खुलाई विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेका थिए । त्यो निर्देशन जारी गरेको केही घन्टामै डीआइजी ज्ञवाली भारतीय दूताबास छिरेका थिए ।
बिहीबार दूताबास गएका डीआइजी ज्ञवाली मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको स्रोतले बताएको छ । जुन बेला उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल पनि बालकोटमै थिए ।
नेपाल प्रहरीमा ३ एआइजी पद रिक्त भएको र बढुवाका लागि डीआइजीहरुबीच तीव्र प्रतिस्पर्धा भइरहेको बेला ज्ञवालीको दूताबासदेखि बालकोटको दौड चलेको कुरा सतहमा आएको छ ।
गृहमन्त्रालयको निर्देशन बिपरीत भारतीय दूताबासको सेक्युरिटी विङ्सका फष्ट सेक्रेटरीसँग भेट्न जानुभएको हो भन्ने प्रश्नमा डीआइजी ज्ञवालीको प्रतिक्रिया यस्तो छ–‘तपाईलाई जहाँबाट म भेट्न गएको भन्ने सूचना आएको हो, त्यहीँ भेरिफाई गर्नुस् ।’