
काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आईजीपी नियुक्तिबारे छलफल भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार साँझ प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच नेपाल प्रहरीमा शुक्रबार बेलुकादेखि रिक्त हुने आईजीपी पदमा नियुक्तिको विषयमा वान टू वान वार्ता भएको हो ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै छन् । चैत १० मा (शुक्रवार) उनलाई बिदाइ गरिने छ । त्यसअघि सत्तासाझेदार दलहरुबीच आईजीपी पदमा कसलाई नियुक्ति गर्ने भन्ने विषयमा छलफल भएको हो । स्रोतका अनुसार कसलाई आईजीपी बनाउने भन्ने विषयमा सहमति भएको छैन् ।
शुक्रबार बस्ने ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपीको टुंगो लगाउने छ । भावी आईजीपीको लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु दाबेदार छन् । बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आइजिपीका दाबेदार हुन् ।
आईजीपीमा ज्ञवालीको सम्भावना बढी छ । ज्ञवालीलाई आईजीपी बनाउने विषयमा बिहीबार साँझ प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल भएको स्रोतले बतायो । एआईजी ज्ञवालीको जन्ममिति विवादबारे बिहीबार गृहसचिव विनोद प्रकाश सिंह, महान्यायाधीवक्तासहितको टोलीले गरेको छानबिनका क्रममा कुनै त्रुटि नदेखिए पछि उनलाई आइजिपी नियुक्ती गर्न छलफल भएको बताइएको छ ।