२०७९ चैत्र ९, बिहीबार २२:१७ बजे

काठमाडौं । गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममितिमा कुनै त्रुटि नदेखिएको निष्कर्ष निकालेको छ । जन्ममिति विवादबारे ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी परेलगत्तै आयोगले गृह मन्त्रालयलाई छानबिनका लागि पत्राचार गरेको थियो ।

सोही अनुसार बिहीबार गृहसचिव विनोद प्रकाश सिंह, महान्यायाधीवक्तासहितको टोलीले गरेको छानबिनका क्रममा कुनै त्रुटि नदेखिएको निष्कर्ष निकालेको हो । फरक–फरक जन्ममिति भएको र ज्ञवालीले २५ वर्ष नाघेपछि प्रहरी सेवामा भर्ना भएको भन्दै कैलालीका शेरबहादुर चन्दले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका थिए ।



तर फरक–फरक दुई जन्ममिति विवादबारे यसअघि भएका निर्णय तथा स्थापित नजिर, प्रहरी नियमावली लगायतलाई आधार बनाएर छानबिन गर्दा ज्ञवालीको जन्ममितिमा कुनै त्रुटि नदेखिएको बताइएको छ । प्रहरी नियमावली २०४९ अनुसार उनको भर्ना प्रक्रिया योग्य ठहरिएको गृहले निष्कर्ष निकालेको स्रोतले बतायो ।



ज्ञवालीसहित अहिले आईजीपीको प्रतिस्पर्धामा रहेकाहरु २०५० मंसिरमा प्रहरी निरीक्षकका लागि आह्वान गरेको दरखास्तअनुसार भर्ना भएका व्यक्तिहरु हुन् । प्रहरी नियमावली २०७१ मा प्रहरी निरीक्षकमा भर्ना हुने योग्यताअनुसार उमेरको विवरणमा दरखास्त फारम दर्ता हुने अन्तिम मितिसम्मा २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको हुनुपर्ने र पूरा विवरण भएको प्रमाणपत्रलाई आधार मानेर उमेर गणना हुने पनि उल्लेख छ।

यसलाई आधार मान्ने हो भने ज्ञवाली प्रहरी सेवामा भर्ना हुँदा २५ वर्ष कटिसकेको पुष्टि हुन्छ । ज्ञवालीको शैक्षिक प्रमाणपत्रमा जन्ममिति २०२५ भदौ २६ गते रहेको छ। २०५० मंसिरमा दरखास्त खुल्दा ज्ञवाली २५ वर्ष ३ महिनाका भइसकेका थिए।

तर, ज्ञवाली प्रहरी निरीक्षकमा भर्ना हुँदा भने प्रहरी नियमावली २०४९ कार्यान्वयनमा थियो। सोही नियमावली अनुसार नै उनको भर्ना भएको थियो । प्रहरी नियमावली २०४९ को दफा १३ मा (क) मा ‘छनौट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष उमेर ननाघेको’ हुनुपर्ने उल्लेख छ ।

२०४९ को नियमावलीअनुसार उमेरको हिसाब गर्दा भर्ना हुने सालको वैशाखको १ गतेलाई आधार मान्नुपर्ने हुन्छ। अर्थात् ज्ञवालीले २०५० मंसिरमा प्रहरी निरीक्षकमा दरखास्त दिए पनि उमेरको हिसाब भने २०५० वैशाख १ गते २५ वर्ष ननाघेको हुनुपर्ने हुन्छ।

उक्त नियमावलीअनुसार उमेरको हिसाब गर्दा ज्ञवालीको जन्ममिति २०२५ भदौ २६ गतेबाट २०५० वैशाख १ गते २५ वर्ष ननाघेको देखिन्छ । जसअनुसार ज्ञवाली प्रहरीमा भर्ना भएको वर्षको वैशाख १ गते उनको उमेर २४ वर्ष पाँच महिना मात्रै हुन आउँछ । त्यसैले २०४९ को प्रहरी नियमावलीअनुसार भर्ना भएका ज्ञवालीको उमेरलाई आधार मानिएको छ ।

जन्ममिति विवादबारे छानबिन गरेर ३५ दिनभित्र जवाफ पठाउन अख्तियारले गृहलाई भनेको थियो । गृहले अब एआईजी ज्ञवालीको जन्ममितिमा कुनै पनि त्रुटि नदेखिएको निष्कर्षसहित अख्तियारले जवाफ पठाउने छ । एआईजी ज्ञवालीले भावी आईजीपीका दाबेदार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय