२०७९ चैत्र १७, शुक्रबार १४:५९ बजे

नवलपरासी । आईजीपी वसन्त बहादुर कुँवरले नेपाल प्रहरीको एक मात्र विशिष्ट प्रकृतिको तालिम प्रदायक संस्था नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयलाई समय सापेक्ष ढंगले परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आठौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोहलाई संबोधन गर्दै आईजीपी कुँवरले नेपाल प्रहरीमा संचालन हुने तालिमहरूमध्ये सबै भन्दा कठिन मानिने यस तालिम पूरा गर्नु आफैमा एउटा ठूलो उपलब्धि भएको बताए ।



कार्यक्रमा उनले प्रशिक्षार्थीहरूलाई डेमोन्स्ट्रेसनको सिलसिलामा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा खटिदा पनि कायमै राख्न निर्देशन दिए ।



नेपाल प्रहरीको विशिष्टीकृत बलको रूपमा स्थापित गरिएको कमाण्डोहरुको युनिटले विगतमा देखाएको बहादुरी र काम कारबाहीले नेपाल प्रहरी सङ्गठनकै मान बढाएको आईजीपी कुँवरको दाबी थियो ।

कुँवरले भने, ‘नि सन्देह कठिन, चुनौतीपूर्ण र निर्विवादित तवरमा नेपाल प्रहरीको एक मात्र इलाईट फोर्स को रूपमा रहेको कार्यदललाई यहाँहरुले केवल पेशा मात्र हैन आफ्नो जीवन पद्धतिका रूपमा ग्रहण गरी राष्ट्र र नागरिक सेवामा आफ्नो विशिष्ट पहिचान बनाउन सफल हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरे ।

९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक १२ जना, प्रहरी सहायक निरीक्षक १५ जना र प्रहरी जवान ८८ जना गरी जम्मा १ सय १५ जनाको सहभागिता रहेको थियो ।

उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय