
चितवन । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।
आइतबार सम्पन्न भएको प्रतिनिधिसभा उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४२ हजार ९२५ रहेको छ । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाएर तेस्रो बनेका छन् ।
चितवन क्षेत्र नं. २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।
यसअघि मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा पनि भारी मतले विजयी भएका लामिछाने उपनिर्वाचनमा आफ्नै मतको रेकर्ड ब्रेक गर्दै दोस्रो पटक विजयी भएका हुन् । मंसिर ४ को निर्वाचनमा उनले ४९ हजार ३०० मत पाएका थिए ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।