टिकटोक भिडियो बनाउन रोकेपछि बुहारीले हालिन ससुरा, श्रीमान र देवरविरुद्ध उजुरी



जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक युवतिले आफ्नै श्रीमान, ससुरा र देवरविरुद्ध उजुरी दिएकी छन् ।

टिकटोक भिडियो बनाउन नदिएको निहुँमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ थापाचोक बस्ने रामेश्वर यादवकी श्रीमति बर्ष २१ की दुर्गा यादवले उजुरी दिएकी छन् । दुर्गाले आफू टिकटोक भिडियो बनाएपछि आफूलाई बिष खुवाएर मार्ने प्रयास गरेको भन्दै श्रीमान, ससुरा र देवरमाथि नै उजुरी दिएको हो ।

दुर्गाले परिवारकै सदस्यले विष खुवाएर हत्या प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन्। दुर्गादेवीको माइती पक्षले छोरीको हत्या प्रयास भएको भन्दै ससुरा बेचन, सासु लक्ष्मीनिया, पति रामेश्वर र देवर सुनिलविरुद्ध उजुरी दिएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ थापाचोकमा बेचन यादव र उनका परिवारका सदस्यले २१ वर्षीया बुहारी दुर्गा देवीको हत्या प्रयास गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

१० असारको राति २ बजेतिर दुर्गालाई पति रामबाबु र देवर सुनिल यादवले सिकिस्त अवस्थामा अस्पताल पुर्‍याएका थिए । उनले विष सेवन गरेको परिवारको दाबी छ ।

होसमा आएपछि दुर्गाले पत्रकार र मानव अधिकारकर्मीसमक्ष आफूलाई ससुराले कुटपिट गरी विष खुवाएको बताएकी छन् । ‘ससुराले टिकटक किन बनाइस् भन्ने निहुँमा पिठ्युँमा मुक्काले हिर्काएर कोठामा थुनेर कुटपिट गर्नुभयो’ दुर्गाले भनिन्, ‘अलिअलि मात्र सम्झना छ, स्प्राइटजस्तो बोतलमा रहेको तितोे तरल पदार्थ जबर्जस्ती खुवाउनुभयो । त्यसपछि के भयो थाहा भएन, होसमा आउँदा म आईसीयूमा थिएँ ।’

४ वैशाख २०७९ मा विवाह गरेका दुर्गा र उनका पति रामेश्वरका ४ महिनाका छोरा छन् ।

बिहे भएर आएदेखि नै ससुरा बेचन र सासु लक्ष्मीनिया देवीले यातना दिँदै आएको दुर्गाको भनाइ छ । सासुले आफ्नो छोरी निर्मलालाई छोरा दिन दबाब दिएको र त्यसैका लागि हत्या प्रयास भएको उनको दाबी छ ।

जनकपुरस्थित कृष्णा नर्सिङ होममा चारदिन आईसीयूमा उपचारपछि शनिबार जनरल बेडमा सारिएकी उनको अवस्था सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकका अनुसार आँप पकाउन प्रयोग हुने ओपी नामक विषादी शरीरमा फैलिएर दुर्गाको स्वास्थ्य अवस्था जटिल बनेको थियो । उनले दुर्गालाई जबरजस्ती विष खुवाएको वा अन्याय भएको रहेछ भने दोषीमाथि कानुन बमोजिम कारबाही हुने बताए ।

जानकारी अनुसार, टिकटोक लत्तमा फँसेकी दुर्गाले परिवारजन सम्झाई बुझाई गर्दा जबरदस्ती बिष खुवाएको गलत आरोप लगाएको दाबी ससुरा पक्षले गरेको हो ।

यता, धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले महिला सेलमा परेको उजुरीबारे अनुसन्धान भइरहेको बताए । साभार : न्यूज ब्यूरो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


ताजा समाचार

सम्बन्धित खबर