काठमाडौं – सूचना तथा प्रसारण विभागले पत्रकारहरुलाई उपलब्ध गराउँदै आएको प्रेस प्रतिनिधि प्रमाणपत्र (प्रेस पास) का लागि दरबन्दी पठाउन सञ्चार संस्थाहरुलाई सूचना गरेको छ ।
आर्थिक वर्ष २०८०–८१ का लागि प्रेस पास जारी तथा नवीकरण गर्न विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको दरबन्दी पठाउन विभागले भनेको हो ।
श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ तथा नियमावली, २०५३ र प्रेस प्रतिनिधि (प्रमाणपत्र तथा परिचयपत्र वितरण) कार्यविधि, २०७१ को दफा ३३ बमोजिम प्रत्येक वर्ष सञ्चार प्रतिष्ठानले आफ्नो प्रतिष्ठानमा रहेका दरबन्दीको तहगत विवरण र श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको विवरण विभागमा पठाउनुपर्ने व्यवस्था छ ।
विभागले सबै सञ्चारगृहलाई पत्राचार गर्दै श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको विवरण विभागको बेभसाइटमा गएर अनलाइन सेवाभित्र रहेको प्रेस दरबन्दीमार्फत भर्नुपर्ने जनाएको छ । एक आर्थिक वर्षका लागि निर्धारण गरिएको दरबन्दी विवरण एकपटक बुझाउनुपर्ने र सो विवरण सोही आर्थिक वर्षको अन्त्यसम्म कायम रहने विभागले स्पष्ट पारेको छ ।
त्यसैगरी, पाँच जनाभन्दा बढी दरबन्दी रहेको सञ्चार गृहले तलबी विवरणको प्रमाणित प्रतिलिपि, तलब भुक्तानीका लागि सम्बन्धित बैंकलाई लेखिएको पत्र बुझाउनुपर्नेछ । पाँच जनाभन्दा कम दरबन्दी भएका सञ्चारगृहहरुले पहिलोपटक न्यूनतम पारिश्रमिक प्रदान गर्ने प्रतिबद्धता र दोस्रो पटक अनिवार्य रुपमा तलब दिएको विवरण पेश गर्नुपर्नेछ ।
तोकिएको ढाँचाभन्दा भिन्न रुपमा भरिएका विवरण दर्ता नगरिने विभागले प्रष्टाएको छ । त्यस्तै, गलत विवरण पठाएमा स्वयं संस्था नै जिम्मेवार हुने भनिएको छ ।
विभागले साउन १ गतेदेखि नयाँ प्रेस पास जारी तथा नवीकरणका लागि आवेदन खुलाउने गरेको छ ।