
वीरगंज – २५ असार । मधेश प्रदेश स्थित पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा विभिन्न गैर सरकारी संस्थाबाट तालिम तथा कार्यक्रम संचालन खर्च देखाई ४२ लाख बढि रुपैयाँ हिनामिना÷घोटाला गरिएको पाईएको छ ।
पर्सागढी नगरपालिकाका तत्कालिन निमित प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव र कार्यकारी लेखा प्रमुख श्याम नारायण भगत मालीले विभिन्न तालिम, सेमिनार र गोष्ठी संचालन भएको कार्यक्रमको मापदण्ड भन्दा फरक दरमा भुक्तानी तथा एउटै कार्यक्रमको २÷३ पटक खर्च देखाई ४२ लाख २२ हजार ९५ रुपैयाँ घोटाला गरेको पाईएको हो ।
बजेटलाई कसरी कार्यान्वयन गर्ने भने मुख्य जिम्मेवारी पालिकाको प्रमुख प्रशासकीय अधिकृतकै हुन्छ । यही जिम्मेवारी अन्तर्गत रही आर्थिक कारोबार गर्दा वा कार्य सम्पन्न भइसकेपछि भुक्तानी गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको हुन्छ । तर अधिकृत यादव र लेखा प्रमुख मालीले पदको फाइदा उठाउँदै अवैध आर्थिक लाभ लिन आर्थिक वर्ष २०७८÷७९ मा विभिन्न ४५ वटा गैर सरकारी संस्थाहरुबाट विभिन्न तालिम, कार्यक्रम संचालन, खरिद कार्य लागयतको काम गराएको देखाई २ करोड १७ लाख बढी खर्च देखाएको महालेखा परीक्षकको प्रतिवेदन दफा न. ३३.२ मा उल्लेख छ । तर तत्कालिन अधिकृत यादव र लेखा प्रमुख मालीले ती मध्ये संचालन गरेको विभिन्न तालिम तथा कार्यक्रम २÷३ पटक संचालन भएको देखाई निर्धारित मापदण्ड भन्दा फरक दरमा भुक्तानी देखाई ४२ लाख बढि रुपैयाँ घोटाला गरेको स्थानीयको आरोप छ । जुन आरोपलाई महालेखा परीक्षक कार्यालयको तथ्याङकले पनि पुष्टि गरेको देखिन्छ ।
कुनै पनि मुलुक त्यहाँको संविधानले दिएको अधिकार र कानुनको परिधिभित्र रही चल्ने गर्छ । जस अनुसार प्रदेश खर्च मापदण्ड निर्देशिका २०७७ को दफा १५ अनुसूचि २ मा कार्यक्रम संचालन गर्दा खर्चको मापदण्ड निर्धारण गरेको छ । नगरसभाले तालिम गोष्ठी सेमिनार संचालन गर्दा खर्च गर्ने मापदण्ड निर्धारण गरे पनि अधिकृत यादव र लेखा प्रमुख मालीले अबैध आर्थिक लाभ लिन विद्यमान ऐन कानुनको कुनै पाल्ना नै नगरि ऐन विपरित विभिन्न कार्यक्रममा मापदण्ड भन्दा बढि भुक्तानी खर्च देखाई ४२ लाख २२ हजार बढि भुक्तानी गरेको रकम असुल गर्न निर्देशन दिदै मलेपको कार्यालयले बेरुजू कायम गरेको छ । ऐन अनुसार जिम्मेवारी व्यक्तिको कारण हिनामिना वा हानि–नोक्सानी पारेको रकम किटान गरिएको व्यवहोरालाई असुल गर्नुपर्ने बेरुजूमा बर्गिकरण गरिन्छ । यसले समेत अधिकृत यादव र लेखा प्रमुख मालीले जानी जानी ऐन विपरित खर्च देखाई सो रकम घोटाला गरेको पुष्टि हुन्छ ।
सार्वजनिक खरिद नियमावली २०६४, को नियम ९९(१) ऐनको दफा ५६ बमोजिम गैर सरकारी संस्थाहरुबाट काम गराउनको लागि त्यस्तो कामको आवश्यकता, किसिम, समयावधी, कामको गुणस्तर, जनशक्ति, कार्य सञ्चालन विधि सहितको कार्य क्षेत्रगत शर्त र लाग्ने रकमको मोटामोटी अनुमान तयार गर्नु पर्ने व्यवस्था छ । तर तत्कालिन निमित अधिकृत यादव र लेखा प्रमुख मालीले अबैध आर्थिक, धनमाल कमाउन ऐन कानुन र प्रक्रिया लगायतको विपरित गैर सरकारी संस्थाहरुमार्फत ५० प्रतिशत कमिसनको सेटिङ्गमा विभिन्न कार्यक्रम, खरिद कार्य लगायतको काम गराएको देखाई निर्धारित मापदण्ड भन्दा फरक र एउटै कार्यक्रमको दोहोरो–तेहोरो भुक्तानी देखाई ४२ लाख बढि घोटाला गरेको स्थानीयको आरोप छ ।
गैर सरकारी संस्थाहरुमार्फत कार्यक्रम संचालन वा काम गर्दा लागत अनुमान तयार, मौजुदा सूचिमा दर्ता, राष्ट्रियस्तर÷स्थानीयस्तरका दैनिक समाचार पत्रमा सूचना प्रकाशन गरि प्रस्ताव मांग लगायतका प्रक्रिया पुरा गरेर मात्रै कार्यक्रम संचालन वा काम गर्नुपर्ने कानुनी व्यवस्था छ । तर सो आर्थिक वर्षमा विभिन्न गैर सरकारी संस्थाहरुसंग कार्यक्रम संचालन वा काम गरे पनि त्यस्तो कुनै प्रक्रिया नै पुरा नगरेको मलेपको कार्यालयले जनाएको छ ।
नक्कली बिल बिजकबाट २२ लाख बढि भुक्तानी
मुल्य अभिबृद्धि कर ऐन, २०५२ को दफा १४ बमोजिम मुल्य अभिबृद्धि करमा दर्ता भएका फर्म संग तोकिएको ढाँचाको कर बिजक लिई खरिद गर्नुपर्ने व्यवस्था छ । तर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत यादव र लेखा प्रमुख मालीले पान नम्बरमा दर्ता भएको विभिन्न गैर सरकारी संस्थाहरुको नाममा मुल्य अभिबृद्धि करमा दर्ता भएको देखाई नक्कली बिल बिजकबाट १९ लाख ९४ हजार ४३४ रुपैयाँ गरि मुल्य अभिबृद्धि करसहित २२ लाख भन्दा बढि भुक्तानी गरि लाखौं रुपैयाँ हिनामिना गरेको स्थानीयको आरोप छ । जुन मलेपको प्रतिवेदनले थप पुष्टि गरेको छ ।
पान नम्बरमा दर्ता भएको संस्था वा फर्मबाट २० हजारभन्दा बढीको कारोबार गर्न नमिल्ने कानुनी व्यवस्था छ । तर अधिकृत यादव र लेखा प्रमुख मालीसहितकाले कमिसनको सेटिङ्गमा पान नम्बरमा दर्ता रहेको संस्थालाई मुल्य अभिबृद्धि करमा दर्ता भएको नक्कली बिजक बनाई ऐन विपरित खर्च गरि लाखौं रुपैयाँ हिनामिना गरेको देखिन्छ ।
यस विषयमा तत्कालिन अधिकृत यादव र लेखा प्रमुख मालीसंग पटक पटक फोन गर्दा मोबाईल स्वीच अफ रहेको पाईयो । पछि सम्पर्कमा आए दुबै जनाको प्रतिक्रिया समावेश गरिनेछ ।