राजश्व अनुसन्धान कार्यालय पथलैया निष्क्रिय, एक्सनमा विभाग



काठमाडौं । राजश्व अनुसन्धान विभाग अन्तर्गतगको राजश्व अनुसन्धान कार्यालय पथलैया निष्क्रिय जस्तै भएको छ । नेपालमा अत्याधिक सामान आयात हुने नाका वीरगन्ज भन्सार र अन्तर्गतका कार्यालयहरूबाट विगतभन्दा झन्डै ४०-४३ प्रतिशतसम्म मालबस्तुको आयात कम भएकोले स्वतः पथलैया कार्यालय निष्क्रिय जस्तै भएको राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख तेज नारायण यादवले बताए ।

भन्सार राजश्व उठ्ने हिसावले वीरगन्ज भन्सार कार्यालयले मात्र ४०-४३ प्रतिशतभन्दा बढी राजश्व संकलन गर्ने गर्छ । वीरगन्ज भन्सार कार्यालय अन्र्तगत मटिअर्वा, सिरसिया, पिपरपाती, समरौनगढ, ठोरी, अबही, कचर्वा, अलौ, गाढपर्सौनी र जानकीढोलासहित ११ वटा छोटी भन्सार कार्यालयहरू छन् ।

वीरगन्ज भन्सार कार्यालयबाट मुख्य रूपमा सवारी साधानका पार्ट पूर्जा, औद्योगिक मेसिन तथा मेसिनरी पार्ट पूर्जा, पेट्रोलियम पदार्थ, पन्थर कोइला, विभिन्न किसिमका थान कपाडाहरू, पेय पदार्थका कन्सन्टे«र्डहरू, औद्योगिक कच्चा पदार्थहरू, फिट सप्लिमेन्ट, जुत्ता, आलमोनियम रड, विभिन्न थान कपडा, फलामे पत्रु, भाडाकुडा, तामा पित्तलका सामानहरू, खाद्यान्न, ड्राइ फ्रुट लगायतका बस्तुहरू ठुलो मात्रामा भित्रने गर्छ ।

पछिल्लो समय वीरगन्ज भन्सार कार्यालय र अन्तर्गतबाट कम आयात हुनुले पनि राजश्व अनुसन्धान कार्यालय पथलैया काम विहीन जस्तै भएको छ । राजश्व चुहावट नियन्त्रणको कार्यमा विगतदेखि महत्वपूर्ण भूमिकामा रहेको थपलैया कार्यालयले अहिले सामान्य गस्ती, आएको सूचनाको आधारमा राजश्व छलीको अनुसन्धान तथा प्रहरीले समाएर ल्याएका मालबस्तु तथा बालबाहक गाडीको अनुसन्धान गर्न मात्र सिमित भएको थपलैयाका एक अधिकृतले बताए ।

प्रमुख व्यापारीक र औद्योगिक हब मानिने वीरगन्ज तथा आसपासका क्षेत्र र काठमाडौं उपत्यकामा समेत व्यापारिक गतिविधिमा सुस्तता आएसँगै चोरी, तस्करी कम भएको र भन्सार नाकाबाट आउने माल बस्तुमा समेत ४०-४३ प्रतिशतसम्म गिरावट आएकाले राजश्व अनुसन्धान कार्यालय काम बिहीन जस्तै भएको कार्यालय प्रमुख यादवले नयाँ सडकलाई बताए ।

कुनै समय वीरगन्ज भन्सार कार्यालय अन्तर्गतका भारतीय सीमासँग जोडिएका क्षेत्रबाट अत्याधिक चोरी, तस्करी हुने गरेकोमा पछिल्लो समय त्यसको स्वरूप र स्थान परिवर्तन हुनुले पनि राजश्व चुहावट तथा चोरी, तस्करी गर्ने निकाय राजश्व अनुसन्धान कार्यालय पथलैया काम विहीन भएको हुन सक्ने अनुमान गरिएको छ । विगतमा भन्दा राजश्व कार्यालयहरू बुटवल, इटहरी र कोहलपुरसमेत सुस्त भएका छन् ।

विगत केही महिना यतादेखि बजारमा देखिएको सुस्तता आन्तरिक व्यापारमा आएको कमी, आयातमा देखिएको कमी, उद्योगी, व्यापारी र समग्र निजी क्षेत्रमा देखिएको नैराश्यताले समेत ति कार्यालयहरू सुस्त भएका हुन् ।

राजश्व अनुसन्धान विभाग अन्तर्गतको पथलैया कार्यालय चोरी तस्करी र राजश्व चुहावटको नियन्त्रर्णमा महत्वपूर्ण भूमिका रहेको पाइन्छ । यद्यपि, अपेक्षा अनुसारको परिणाम पथलैया कार्यालयले दिन नसकको गुनासो राजश्व अनुसन्धान विभागभित्र चर्चा हुने गरेको छ ।

प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढङ्गानाले सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणमा विभाग मातहतका कार्यालयहरूले भूमिका निर्वाह गरिरहे पनि खासै चोरी तस्करी तथा राजश्व चुहावट नियन्त्रण नभएको बताए । उनले चोरी तस्करी र राजश्व चुहावट नियन्त्रणका लागि अब विभाग आक्रामक रूपमा लाग्ने बताए । ढङ्गानाले अबको लक्ष्य चोरी तस्करी नियन्त्रणका लागि मुहानसँगै थिग्रिने ठाउँमा निग्रानी तथा अनुगमन हुने बताए । साभार : नयाँ सडक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर