कृषि तालिमका लागि इजरायल पुगेका आनन्द साहको २४ दिनमै मृत्यु, परिवारमा पर्‍यो ठूलो बज्रपात



काठमाडौं । शनिवार इजरायलमा भएको हमासको हमलामा १० नेपालीले ज्यान गुमाएको पुष्टि भएको छ । जसमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपही २५ वर्षीय आनन्द साह पनि रहेका छन् ।

भदौ २६ गते मात्रै कृषि तालिमका लागि इजरायल पुगेका उनको २४ दिनमै मृत्यु भएपछि परिवारमा बज्रपात परेको छ ।

हमलाको अघिल्लो दिनमात्रै उनीले बहिनासँग फोनमा कुराकानीमा आफू सन्चै भएको र तिमीहरू पनि राम्ररी बस्नु भनेको परिवारका सदस्यले बताए । आमा बुबा खेतमा गएका कारणले कुरा हुन नपाएको पनि बताए ।

आतंकी हमलाको खबर पाएपछि उनका दिदीले आनन्दसँग फोनमा सम्पर्क गर्न कैयन प्रयास गर्दा पनि कुरा हुन नभएपछि उनलाई घटनाको शंका लागिसकेको थियो ।

सरकारले हिजो साँझ १० नेपालीको मृत्यु भएको सूची जारी गरेपछि मात्र आनन्दको मृत्युको पुष्टि भएको हो ।

लक्ष्मीनियाँ गापा–४ का वडाध्यक्ष रमेश साह भन्छन्– ‘आनन्दको मृत्युको खबरले हामी मर्माहत छौँ । सपहीबासी शोकमा डुबेका छन् । उनका आमा–बुवा बेहोस छन् । घरमा चुलो बलेको छैन । सबै भोक भोकै छन् ।’

वडाध्यक्ष साहका अनुसार ‘आनन्द एक्लो छोरा थिए । उनी नै नरहेपछि आमा–बुवाका लागि सर्वस्व नै गुमाएको जस्तो भएको छ । उनको घरको अवस्था दयनीय छ ’ ।

अहिले मृतक आनन्दका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै सपहीबासी जनकपुर–ढल्केबर सडकमा टायर बाल्दै स्थानीय युवाहरू सडक अवरुद्ध पारेका छन् ।

सडक अवरुद्ध पारेपछि सयौँ सवारी साधन अलपत्र परेका छन् । स्कुल बसहरूसमेत रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर