बोर्डरमा नेपाल–भारतको सशस्त्र प्रहरीबीच सुरक्षा बैठक, सम्प्रादायिक गतिविधिमा कडा निगरानी



जनकपुरधाम । नेपाल–भारतको सीमामा रहेका सुरक्षा अधिकारीहरुले दुई देशबीचको सीमा सुरक्षाको बारेमा गहन छलफल गरेको छ ।

सोमबार नेपालको तर्फबाट सशस्त्र प्रहरी बल (एपिएफ) र भारतको तर्फबाट सशस्त्र सीमा बल (एसएसबी) का उच्च पदस्थ अधिकारीहरुबीच सीमा सुरक्षालाई लिएर वृहत छलफल गरिएको हो ।

डिआईजीस्तरीय सुरक्षा सम्बन्धी सो बैठकमा विगत केही दिनदेखि नेपाल भारतको सीमा क्षेत्रमा धार्मिक तथा सम्प्रादायिक गतिविधिमा बढोत्तरी भएको भन्दै यसमाथि कडा निगरानीको सहमति भएको हो ।

दुई देशका सुरक्षा निकायले यस्ता गतिविधि नियन्त्रणको लागि सशस्त्र प्रहरी र भारतबाट सशस्त्र सीमा बलले एक आपसमा सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर भएको हो ।

नेपालको तर्फबाट मधेश प्रदेशका सशस्त्र प्रहरी डिआईजी दिपेन्द्र शाह र भारतको तर्फबाट मुजफ्रपुर सेक्टर हेडक्वाटरका एसएसबी प्रमुख एवम् आईपिएस दिपक कुमारले नेतृत्व गरेका थिए ।

बैठकमा सीमामा हुने आर्थिक अपराध रोक्नको लागि हातोमालो गर्ने सहमति भएको हो । त्यस्तै, धार्मिक सहिष्णुता कायम राख्नको लागि सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिमाथि कडा निगरानी राखी सहकार्यको लागि सहमति भएको हो ।

बैठकमा दशगजा ईलाकामा कुनै किसिमको अतिक्रमण हुन नदिन, उग्र साम्प्रादायिक गतिविधि हुन नदिनको लागि आवश्यक सहयोग र सहकार्य गर्ने, नेपाली सवारी साधनहरुलाई सहज रुपमा आवागमन गर्नको लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने, बढ्दो लागुऔषध ओसारपसार नियन्त्रण गर्नको लागि  बिशेष सुरक्षा कार्वाही तथा मानब ओसारपसार तथा बेचबिखन नियन्त्रण गर्न दुबै पक्षले अन्य सरोकारवाल संघ संस्थाहरुसँग आवश्‍यक समन्वय गर्नुका साथै अवैध रुपमा सीमा क्षेत्रमा हुने आर्थिक अपराध नियन्त्रण गर्नको लागि सहकार्य गर्ने र नजिकै आउदै गरेको चाडपर्वहरुलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा आवागमन सहज तथा सुरक्षित बनाउनको लागि हेल्प डेक्स स्थापना कार्यलाई प्रभावकारी रुपमा संचालन गर्ने विषयमा छलफल भएको मधेश प्रदेशका सशस्त्र प्रहरी बलका प्रवक्ता एवम् एसपी माधव प्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रममा बेतिया सेक्टर हेडक्वाटरका डिआईजी सुरेश सुबरमनियम र सिमावर्तित ईलाकामा कार्यरत दुवै संगठनका कार्यालय प्रमुखहरूको समेत उपस्थिति थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर