एमाले मधेस प्रदेश अधिवेशन : यी हुन् अध्यक्षका आकाङ्क्षी



काठमाडौँ । प्रदेश अधिवेशनको अन्तिम चरणमा पुगेको नेकपा एमालेको मधेस प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ । अध्यक्ष केपी शर्मा ओलीले आज बुधबार १२ बजेपछि जनकपुरमा उद्घाटन गर्ने अधिवेशनको बिहीबारदेखि बन्द सत्र सुरु गरेर नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

नेकपा एमाले केन्द्रीय सचिवसमेत रहेका मधेस इन्चार्ज योगेश भट्टराईका अनुसार अधिवेशनमा एक हजार २१ जना प्रतिनिधिले पाँच पदाधिकारीसहित २ सय ३५ सदस्यीय नयाँ प्रदेश कमिटी निर्वाचित गर्दै छन् । इन्चार्ज भट्टराईका अनुसार सर्वसम्मत नेतृत्व छनोटको प्रयास भइरहेको छ । सर्वसम्मतका लागि सहमति नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुनेछ ।

‘पार्टीका हरेक सदस्यलाई विधानसम्मत नेतृत्वमा आउने, प्रतिस्पर्धा गर्ने छुट छ । तर हामी सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्नेछौँ’, भट्टराईको भनाइ छ । अर्का सचिव रघुवीर महासेठको गृह प्रदेश समेत हो मधेस प्रदेश ।

यो प्रदेशमा ६६ हजार २ सय पार्टी सदस्य रहेको एमालेले जनाएको छ । जसमध्येबाट १ सय ३६ स्थानीय तहका १ हजार २१ जना प्रतिनिधिका रूपमा छानिएका छन् ।

नेतृत्वका लागि अहिलेसम्म सर्लाहीका राजनारायण साह र चन्देश्वर मण्डलले तथा धनुषाका लक्ष्मीनारायण यादवले अध्यक्ष पदमा आकांक्षा देखाएका छन् । बिचारी यादव र रेवती पन्तको नाम पनि चर्चामै छ । यद्यपि उनीहरुले बाहिर भने केही बताइसकेका छैनन् । हालका प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको प्रमुख भएकाले उनी अध्यक्षमा दोहोरिन नपाउने एमालेको निर्णयअनुसार यो प्रदेशबाट एमालेका अन्य नेताले अवसर पाउने अवस्था आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर