जनकपुरः झारफुकको नाममा ईन्जिनीयरको श्रीमतिलाई बलात्कार गरेको आरोपमा एक धामी पक्राउ



जनकपुरधाम । झारफुक र भूत भगाउने निहुँमा एक महिलामाथि बलात्कार गरेको आरोपमा एक धामी (झाँक्री) पक्राउ परेका छन् ।

दशैँमा अष्टमी तिथिको दिन धनुषाको औरही नगरपालिका वडा नं. १ पौडेश्वर बस्ने एक इन्जिनीयरकी श्रीमतिलाई झारफुकको नाममा बलात्कार गरेको आरोपमा धनुषाको सबैला नगरपालिका वडा नं. ११ अमरखन्ना बस्ने धामी विष्णु भन्ने विष्णुदेव ठाकुर पक्राउ परेका छन् ।

श्रीमतिलाई भूत प्रेतको साया भएको भन्दै ईन्जिनीयरले आफ्नो श्रीमतिलाई झारफुक र तन्त्र विद्या मार्फत ठिक गराउन धामी ठाकुर कहाँ लगेका थिए । ठाकुरले बताए अनुसार, विधि विधान गरी कालरात्रीको दिन उनलाई उनकै गाउँको श्मसान घाटमा लगेर बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

झाँक्रीलाई शुक्रबार ईलाका प्रहरी कार्यालय सबैलामा उजुरीको अनुसार पक्राउ गरिएको हो । इन्जिनीयर दम्पतिले धामी ठाकुरमाथि बलात्कारको आरोप लगाउँदै उजुरी गरेपछि अनुसन्धानको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सो सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले धामीलाई पक्राउ गरी महिलालाई मेडिकल चेकअपको राखिएको बताएको छ । जानकारी अनुसार, महिलामाथि अष्टमी तिथिकै दिन बलात्कार गरेको भनेर उजुरी परेको हो ।

घटनाको एक सातापछि मात्र इन्जिनीयर दम्पतिले धामीमाथि उजुरी हालेको हो । सो बीचमा उनीहरुले धामीसँग १० लाख रुपैयाँमा बार्गेनिँग गरेको बुझिएको छ । यद्यपी, यसको अधिकारिक पुष्टि भने भएको छैनन् । धामीसँग लेनदेनको कुरा नमिलेपछि मात्र उजुरी गरिएको बताईएको छ । बीच दलालहरुले १० लाख रुपैयाँमा कुरा मिलाएपनि पुनः बाँडफाँडको लागि कुरा नमिलेपछि उजुरी दर्ता गराईएको बताईएको छ ।

सुरुमा पीडित भनिएकी महिला र उनको श्रीमानले धामीसँग रकम असुल्नकै लागि नाटक रचेको पनि बताईएको छ । ईन्जिनीयर भएका बुद्धिजीवीले अन्धविश्वासमा कसरी पर्न सक्छ भनेर प्रश्न उनी केही स्थानीयहरुले गरेका छन् । धामीसँग रकम असुल्नकै लागि योजना अनुसार कार्य गरेको पनि बताईएको छ । अष्टमी तिथिकै दिन घटना भएपनि ५ दिनपछि उजुरी दिएपछि शंका उब्जिएको हो । यद्यपी, यसबारे कुनै पुष्ट प्रमाणहरु छैनन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । महिलालाई आजै मेडिकल चेकअप गराउने तयारी गरिएको हो ।

यस्तो छ घटनाः
इन्जिनीयरले श्रीमतिलाई भूतप्रेत लागेको भन्दै छुटाउनको लागि धामी विष्णुदेव ठाकुरसँग सम्पर्क गरे । सम्पर्कपछि उनले बताएको विधि विधान अनुसार कालरात्री अर्थात अष्टमी तिथिको दिन (कार्तिक ५ गते) राती पौडेश्वर गाउँभन्दा बाहिर रहेको श्मसान घाटमा लगियो ।

महिलाको श्रीमान इन्जिनीयर पनि सँगै गएका थिए । तीनै जना सँगै श्मसान घाट जाँदा धामीले इन्जिनीयरलाई बाहिरै बस्न भनेर महिलालाई भित्र लगेका थिए । केही बेरपछि इन्जिनीयरलाई बोलाउँदा महिला बेहोस र नग्न अवस्थामा देखिएको बयान रेकर्ड गरिएको छ । इन्जिनीयर र धामी दुवै जनाले महिलालाई उठाएर घर ल्याएको प्रहरीको बयानमा भनिएको बताइएको छ । त्यसपछि धामीसँग रकम लेनदेनको बार्गेनिँग भएको बुझिएको छ । १० लाख रुपैयाँ नदिए प्रहरीमा उजुरी गरिदिने भनेर धामीसँग रकमको डील भएको थियो । डीलमा पुनः दलालहरु पसेपछि कुरा नमिल्दा प्रहरीमा उजुरी गरिएको हो ।

बलात्कारको मुद्दामा २४ घण्टाभित्र मेडिकल गराउनुपर्ने प्रावधान रहेको छ । साभार : न्यूज ब्यूरो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज