एक व्यक्ति, दुई जन्म मितिः भावी प्रधानसेनापतिको जन्ममितिमा केरमेट



नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेविरुद्ध बढुवा समितिमा उजुरी नपरेपछि बढुवा प्रक्रिया अघि बढ्ने भएको छ । प्रधानसेनापति प्रभुराम शर्मा बिहीबार चीनबाट फर्केपछि रथी पदमा बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गर्ने गरी जंगी अड्डाले तयारी गरेको छ ।

पाण्डेविरुद्ध बढुवा समितिमा उजुरी नपरेपनि भावी प्रधान सेनापति बन्ने लाइनमा बस्न एसएलसी परीक्षाफलको ढड्डामै केरमेट गरेको पाइएको छ । परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर पाण्डेको जन्ममिति झण्डै दुई वर्ष घटाएको फेला परेको हो ।

उमेर कीर्ते गरेर जागिर खाएको आरोप लागेका उपरथी पाण्डेको नागरिकता र त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रेसन कार्डमा उल्लेखित उमेर सूची भिडाउँदा झण्डै २ वर्षको फरक देखिन्छ । पाण्डेको नागरिकतामा जन्ममिति मंसिर २३ गते उल्लेख छ भने त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रेसन कार्डमा २०२१ माघ १२ गते रहेको प्रष्ट छ । यो जन्म मिति उनले २०७२ मा सच्याइएको जंगीअड्डा र विश्वविद्यालय स्रोतले जानकारी दियो ।

पाण्डेले तनहुँको चुँदीस्थित चन्द्रवती माध्यमिक विद्यालयबाट २०३८ सालमा प्रवेशिका परीक्षा दिएका थिए । प्रवेशिका परीक्षा दिँदा उनको जन्ममिति १२ माघ २०२१ उल्लेख थियो । तर, त्यो जन्ममितिलाई उनले चार वर्षपछि २५ चैत २०४२ मा सच्याएर जन्ममिति घटाएको परीक्षा नियन्त्रण कार्यालयको विवरणमा देखिन्छ । जबकि, जन्ममितिमा कैफियत भए प्रवेशिका परीक्षा दिएको ६ महिनाभित्र सच्याइसक्नुपर्ने प्रावधान उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७ मा थियो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रेसन कार्डमा पनि उपरथी पाण्डेको जन्ममिति १२ माघ २०२१ उल्लेख रहेको देखिन्छ । २२ साउन २०७६ मा परीक्षा नियन्त्रण कार्यालय, बल्खुले दिएको रजिष्ट्रेसन कार्डको सक्कल प्रतिको प्रतिलिपिमा उनको जन्ममिति १२ माघ २०२१ रहेको उल्लेख छ ।

भक्तपुरस्थित सुपिङ बहुमुखी क्याम्पस प्रविणता तहको सेसन २०३९र०४१ को दर्ता किताबमा पनि पाण्डेको जन्ममिति १२ माघ २०२१ देखिन्छ । त्यसबेला उनको ठेगाना काठमाडौं-४, महाराजगञ्ज उल्लेख छ । यद्यपि, पाण्डेले २६ वैशाख २०४३ सालमा आफ्नो ‘चारित्रिक प्रमाण पत्रमा ठेगाना फरक पर्न गएको’ भन्दै नागरिकता अनुसार स्थायी ठेगाना सच्याइदिन भन्दै निवेदन दिएको देखिन्छ । त्यसबेला ‘चारित्रिक प्रमाण-पत्र साथै अफिसको रेकर्ड नागरिकताको प्रमाण-पत्र अनुसार मिलाइदिने’ भन्दै तोक आदेश भएको देखिन्छ ।

उमेर विवादमा के छ प्रचलन ?

निजामती तथा सैनिक सेवा नियमावली अनुसार नागरिकता र शैक्षिक प्रमाणपत्र लगायत सरकारी कागजमा व्यक्तिको उमेर फरक परे वा विवाद भए जुन पहिलो जन्म मिति होस त्यसैलाई कायम गर्ने व्यवस्था छ ।

नेपाली सेनामा यसअघि पनि उमेर विवादमा सोही विधिबाट धेरै जर्नेलले पहिलो जन्म मितिका आधारमा अवकाश पाएका छन् । उपरथी पाण्डेको पहिलो जन्म मिति २०२१ माघ १२ गते उल्लेख भएकाले यसअनुसार उनले हालसम्म अवकाश पाइसक्नुपर्ने हो ।

उजुरी नै उजुरी

विवादास्पद उपरथी ताराध्वज पाण्डेविरुद्ध प्रधानमन्त्री कार्यालय, रक्षामन्त्री, जंगीअड्डा, मुख्यसचिव, रक्षासचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि जनताको गुनासो सुन्न सरकारले स्थापना गरेको हेलो सरकारसम्म उजुरी परेको छ ।

आचरणमा अराजक
उमेर कीर्ते गरेर जागिर खाएको आरोप लागेका उपरथी पाण्डेको व्यक्तिगत आचरण पनि उच्च सैनिक अधिकृतको जस्तो नरहेको टिप्पणी हुने गर्छ । उनी पटकपटक विवादमा पर्दै आएका अधिकृत हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


ताजा समाचार

सम्बन्धित खबर