
एजेन्सी । जाडोमा कपाललाई हुने समस्याबाट जोगाउन घरमै केही उपाय अपनाउन सकिन्छ । केही टिप्स र ट्रिक्स अपनाउनुभयो भने तपाईंको कपाल सधैं सुन्दर र चम्किलो रहनेछ ।
कन्डिसनरको प्रयोग
कपालमा प्रयोग गर्नका लागि सबैभन्दा राम्रो सामग्री मध्ये एकमा पर्छ कन्डिसनर । यसलाई तपाई हरेक पटक कपाल धुँदा प्रयोग गर्नुपर्छ । यसले कपालमाथि एउटा तह वा पत्र निर्माण गर्छ जसले कपाललाई विभिन्न प्रदुषणबाट जोगाउँछ ।
काईँयो वा ब्रस
कपाल कोर्न जहिले पनि फराकिलो र ठूला दाँत भएको काइँयो प्रयोग गर्नु फाइदाजनक हुन्छ । जसले गर्दा अल्झिएको कपाललाई सजिलोसँग कोर्न सकिन्छ र यसले कपाललाई टुक्रिन पनि दिँदैन ।
स्याम्पु
धेरै केमिकल प्रयोग भएका स्याम्पु प्रयोग गर्नु कपालका लागि एकदमै हानिकारक हुन्छ । यसले कपाललाई तुरुन्तै राम्रो देखिए पनि रुखो बनाउने र टाउकोमा चायाँ तथा सुख्खा हुने समस्या देखिन्छ । त्यसैले स्याम्पु एकदमै माइल्ड खालको प्रयोग गर्नुपर्छ ।
मेशिनहरुको प्रयोग
कपाल सुकाउनदेखि लिएर विभिन्न स्टाइलको बनाउन विद्युतीय सामग्रीको प्रयोग गरिन्छ । जसले गर्दा कपाल टुक्रने, झर्ने, सुख्खा हुने जस्ता समस्या देखिन्छन् । त्यसैले कपाललाई यस्ता मेशिनबाट सकेसम्म जोगाउनुपर्छ ।
चिसो कपालसँग बाहिर निस्कनु
कपाललाई कमजोर बनाउने एउटा मुख्य कारणमा पर्दछ चिसै बाहिर निस्कनु । चिसो कपाल बाहिर निस्कँदा प्रदुषण, धुलो धुँवा एकदमै छिटो टाँसिन्छ । जसले गर्दा कपाल छिट्टै फोहोर भई विभिन्न समस्या देखिन थाल्छ ।