
काठमाडौं । गृह मन्त्रालयले सातै प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) हेरफेरको तयारी गरेको छ । हाल कार्यरतहरुको करिब एक वर्ष अवधि पुगेकाले नयाँलाई पठाउन लागिएको हो ।
हाल कोशीमा राजेशनाथ बास्तोला, मधेसमा जनक भट्टराई, बागमतीमा किरण राणा, गण्डकीमा बुद्धी गुरुङ, लुम्बिनीमा उमेशराज जोशी, कर्णालीमा भिम ढकाल तथा सुदुरपश्चिममा भरत बोहरा कार्यरत छन् ।
डिआईजीहरूको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने हुँदा प्रहरी प्रधान कार्यालयले डिआईजी सरुवाका लागि गृह मन्त्रालयलाई सिफारिस गरिसकेको बताइन्छ । यद्यपि कतिपय नामहरूमा भने अझै टुङ्गो लाग्न नसकेको स्रोतको दाबी छ ।
गृह मन्त्रालयको जिम्मेवारी नारायणकाजी श्रेष्ठले सम्हालेसँगै सरकारले सातै प्रदेशसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, विशेष ब्युरोलगायतका महत्त्वपूर्ण ठाँउहरूमा डिआईजीहरूको फेरबदल गर्न लागेको हो ।
प्रहरी प्रधान कार्यालयले मन्त्रीस्तरीय निर्णयबाट हुने सरुवाका लागि डिआईजीहरूको नाम सिफारिस गरेर गृहमा पठाइसकेको छ । तर, ती कतिपय नामहरू परिवर्तन हुन सक्ने स्रोतको दाबी छ ।
स्रोतका अनुसार गृहमा प्रधान कार्यालयले पठाएको पत्रमा कोशी प्रदेशका डिआईजी बास्तोलालाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सिफारिस गरिएको छ । यस्तै बास्तोलाको ठाउँमा चन्द्रकुबेर खापुङको नाम चर्चामा छ ।
यस्तै कोशीमा लालमणि आचार्य, यज्ञविनोद पोखरेलले पनि इच्छा देखाउँदै आइरहेका छन् । तर गृहमन्त्री श्रेष्ठ र प्रहरी महानिरीक्षक (आईजीपी) ले खापुङलाई नै ल्याउन चाहेको स्रोतको दाबी छ ।
त्यस्तै हाल मधेस प्रदेशमा रहेका भट्टराईलाई विशेष ब्युरोका लागि सिफारिस गरिएको छ । उनको ठाउँमा कुवेर कडायतको नाम चर्चामा छ । आईजीपी कुँवरले कडायतलाई जसरी पनि मधेसमा पठाउनुपर्ने भन्दै गृहमन्त्री श्रेष्ठलाई सुझाएका छन् ।
यसैगरी बागमति प्रदेशमा विष्णुकुमार केसी र विकासराज खनालको चर्चा छ । केसीको बागमतिमा भए खनालको गण्डकी प्रदेशमा सरुवा हुने स्रोत बताउँछ । किनकि आईजीपी कुँवर नै उनीहरु दुईजना मध्ये एकलाई बागमति र अर्कालाई गण्डकीको जिम्मेवारी दिने मनासयमा छन् ।
बागमति प्रदेश प्रहरी प्रमुख रहकी राणाको भने कार्य विभागमा सरुवा हुने चर्चा छ भने गण्डकीका गुरुङको अपराध अनुसन्धान विभागमा सरुवा हुने बताइएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा केदार ढकाल र रविन्द्र केसीको चर्चा छ । हाल आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयको जिम्मेवारीमा रहेका ढकालको नै लुम्बिनीमा सरुवा हुनसक्ने प्रबल सम्भावना छ ।
उनको ठाउँमा केसीलाई पठाउन पनि सकिनेछ । जहाँ आईजीपीको विश्वासपात्रलाई समेत राख्ने गरिन्छ । केसीको आईजीपीसँग सुमधुर सम्बन्ध रहेको बताइन्छ । हाल लुम्बिनीका प्रमुख जोशीको भने प्रहरी महानिरीक्षकको सचिवलायमा सरुवा हुने बताइएको छ ।
यस्तै कर्णाली प्रदेश प्रहरी प्रमुखको लागि दुर्गा सिंहको चर्चा छ । उनीसँगै सुरेन्द्र मैनालीको समेत चर्चा छ । यद्यपी कर्णाली प्रमुख रहेका भीम ढकाललाई भरतपुर तालिम केन्द्र पठाएर सिंहलाई कर्णाली पठाउन पनि सकिने बताइएको छ ।
त्यसो भएमा मैनालीको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा हुने बताइएको छ । हालका ट्राफिक प्रमुख पोषराज पोखरेललाई अन्वेषण तथा योजना निर्देशनालयको जिम्मा दिने तयारी छ ।
त्यसैगरी, विमानस्थल प्रहरी प्रमख रहेका अर्जुनचन्द ठकुरीलाई सुदूरपश्चिम प्रहरी कार्यालय पठाएर त्यहाँका डिआईजी बोहरालाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पाठाउने सकिने बताइएको छ ।
यस्तै अख्तियारमा रामदत्त जोशीको समेत चर्चा छ । स्कुपखबरबाट