जनकपुर । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनता आक्रोशित हुन थालेको भन्दै नेताहरु गलत भए सच्चिन तयार हुनुपर्ने बताएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले हल्लाउन खोजे त्यसका विरुद्ध सिंगो देश एकजुट भएर रक्षा गर्नुपर्ने बताए ।
बिहीबार जनकपुरमा भएको कांग्रेस मधेसको पहिलो सम्मेलनमा उपसभापति खड्काले नेताहरूका बोली र व्यवहारमा गुनासा भए सच्याउन तयार हुनुपर्ने बताए ।
‘जनताले हालेको मतबाट आफ्नो मुलुकको शासन आफैंले गर्ने अधिकार भएको संविधानका विरूद्धमा मधेसमा कसैले आवाज उठाउँछ भने, हामीसँग गुनासो मेट्ने बेला आउँछ । हाम्रा कमजोरी हामी आफैँ सच्याउन तयार छौं। काम र बोली वचन सच्याउन तयार छौं । त्यसका लागि संकल्प गर्न तयार छौं,’ खड्काले अघि भने, ‘तर त्यसका कारणले, हामीसँगका गुनासाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन खोज्नेहरूका विरूद्धमा सिंगो मधेस जुरूक्क उठ्नुपर्छ ।’ उनले मधेशले लडेर मुलुकमा संघीयता ल्याएको भन्दै त्यसको रक्षाका लागि पनि मधेश सक्रिय हुनुपर्ने बताए ।
‘संविधानको रक्षा र यो व्यवस्था रक्षाका लागि मधेसले एकताबद्ध भएर अहिलेका चुनौती सामना गर्नुपर्छ,’ उनले भने । उपप्रधानमन्त्री खड्काले संघीयतासँग जोडिएका कानुन बनाउन ढिलाइ भएको स्वीकार गरे । ‘प्रदेशका अधिकारसँग जोडिएका कानुन तत्काल निर्माण गर्ने तयारीमा संघीय सरकार छ,’ उनले भने, ‘संघीय निजामती, प्रहरी ऐनहरू आउँदो हिउँले अधिवेशनसम्म पारित गर्नेछौं ।’