धमाधम बन्द हुँदै टेलिभिजन, गुम्दै पत्रकारको रोजगारी



काठमाडौं । ब्रान्डको रूपमा स्थापित ‘ग्यालेक्सी टेलिभिजन’ १ पुसबाट बन्द भयो । ६ महिनायताको तलब पाउन बाँकी रहेका पत्रकारहरू आन्दोलनमा छन् । अहिले टेलिभिजनले गीत मात्रै बजाइरहेको छ । त्यो पनि लाखौँ महसुल बाँकी रहेकाले विद्युत प्राधिकरणले लाइन नकाटेसम्म मात्रै चल्ने देखिन्छ । बन्दसँगै ग्यालेक्सी टीभीमा काम गरेका कर्मचारी र पत्रकारसहित सयजनाभन्दा बढी बेरोजगार भएका छन् ।

२९ पुसबाट बाग्मती टेलिभिजन बन्द हुँदैछ । रातोपुलमा केन्द्रीय कार्यालय राखेर ६ महिनाअघि मात्रै ‘रिलन्च’ गरेको सो टेलिभिजनले सबै कर्मचारीलाई उधारो चेक दिएर हिसाब फरफारख गरिसकेको छ । एक महिनापछिको मिति राखेर सबै कर्मचारीलाई चेक दिइएको छ । सबैलाई अर्को ठाउँमा जागिर खोज्न भनिएको छ ।

केही साताअघिदेखि ‘नेपाल नेटवर्क टीभी’पनि बन्द छ । दशैँ तिहारको समयमा समेत तलब नपाएर सबै पत्रकार र कर्मचारीले राजीनामा दिएपछि उक्त टिभी बन्द भएको हो । अनामनगरमा रहेको कार्यालयबाट सञ्चालकले अहिले गीत मात्रै बजाइरहेका छन् ।

यसअघि गत ७ असारदेखि ठूलै लगानीमा सञ्चालित ‘अर्थन्यूज टेलिभिजन’ पनि बन्द भएको थियो । पाटनमा कार्यालय रहेको सो टेलिभिजन बन्द भएपछि ८० जना बढी पत्रकार कर्मचारी बेरोजगार भए । ‘रिलन्चको’ तयारी रहेको भनिएको सो टीभीमा अहिले गीत प्रसारण भइरहेको छ ।

पछिल्लो समय साना लगानीका अन्य केही टेलिभिजन पनि बन्द भए । कालोपुलमै कार्यालय रहेको ‘नाईस टीभी’ र जावलाखेलमा कार्यालय रहेको ‘गोर्खा टीभी’ बन्द भए । पर्याप्त लगानी र योजनाबिनै खुलेका ती टेलिभिजन बन्द हुँदा अन्यत्र जागिर छाडेर आएका दर्जन बढी पत्रकार तथा कर्मचारी बेरोजगार भए ।

जनता टेलिभिजन पनि केही सातापछि बन्द हुने अवस्थामा छ । कर्मचारी र पत्रकारले १८ महिनादेखि २ वर्षसम्मको तलब पाएका छैनन् । बिहान बेलुका मात्रै समाचार प्रसारण हुने र गीत मात्र बजिरहेको सो टेलिभिजनमा पत्रकार र कर्मचारीले सोमबार दिउँसोभर आन्दोलन गरेका थिए ।

दुई/तीन बुलेटिन समाचार पनि नपठाउने र अन्तर्वार्ता रोक्नेलगायतका आन्दोलन भएपछि व्यवस्थापन पक्षले केही समयमै पारिश्रमिक दिने प्रतिबद्धता जनाएका छन् । तर, पत्रकारको दिनुपर्ने तलब धेरै बाँकी रहेको र सञ्चालन खर्च धान्न नसकेर बन्द गराउने तयारी रहेको व्यवस्थापकहरू बताउँछन् ।

पछिल्लो समय नेपालमा धमाधम टेलिभिजन बन्द हुँदै गइरहेका छन् । केही महिनाकै अवधिमा मुलुककै ब्रान्डको रूपमा स्थापित भएका केही सञ्चारगृह बन्द हुनुले नेपालका टेलिभिजनको भयावह संकटलाई दर्शाउँछ ।

सानाठूला लगानीका गरी बन्द हुने टेलिभिजनको संख्या दर्जन पुग्न लागेका छन् । पत्रकार कर्मचारी कटौती गरेर चलाइरहेका केही टेलिभिजन बन्द हुने क्रममा छन् ।

ती टेलिभिजन सरकारले लोककल्याणकारी विज्ञापनका नाममा दिने अनुदानले जेनतेन अहिलेसम्म चलेका छन् । आफ्नै बलबुताले टिक्न सक्ने कमै मात्र मिडिया छन् । तिनको पनि अवस्था नाजुक छ ।

टेलिभिजन बन्द भएसँगै बेरोजगार हुनु त छँदै छ, धेरै टेलिभिजनमा काम गरेर पनि नियमित पारिश्रमिक नपाउने समस्या छ । नियमित तलब पाउने त नेपालमा टेलिभिजन नै (सरकारी र निजी २ वटा बाहेक) छैन । कतिपय टेलिभिजनमा पत्रकार तथा कर्मचारीले तीन महिनादेखि सात–आठ महिनासम्मको तलब पाउन सकेका छैनन् ।

धुम्बाराहीमा रहेको ‘ग्लोबल टेलिभिजन’मा पाँच महिनाको तलब बाँकी छ । सो टिभीका दुईजना सञ्चालकमा एक जनाले पैसा नझिकेपछि पत्रकारले पैसा पाएका छैनन् । एकजना सञ्चालकले आफूले मात्र लगानी गर्न नसक्ने बताएपछि सो टेलिभिजनको भविष्य अन्योलमा छ ।

ऋषि धमला अध्यक्ष रहेको प्राइम टाइम्स टेलिभिजनले पनि चार महिनाको तलब दिन सकेको छैन । पत्रकार तथा कर्मचारीहरू भारी कटौती गरे पनि आम्दानीले ‘अपरेसन कस्ट’ मात्र धानिरहेको व्यवस्थापक बताउँछन् ।

तीनकुनेमा कार्यालय रहेको नयाँ टेलिभिजन ‘सेभेनस्टार’को पनि हालत उस्तै भइसकेको छ । नयाँ आर्थिक वर्षबाट सुरु भएको सो टीभीले चार महिनाको तलब दिन बाँकी भएपछि कार्यालय छाड्ने बढेका छन् ।

एपीवान, न्यूज ट्वान्टीफोर, माउन्टेन टेलिभिजन, सगरमाथा, एबीसी टेलिभिजनको हालत पनि झन्डै उस्तै छ । एक जमानामा थुप्रै सेलिब्रेटी जन्माएको एभिन्यूज टेलिभिजनको प्रभाव राम्रो थियो । अहिले उसको हालत पनि संकटमा छ ।

अहिले हिमालय टेलिभिजन र कान्तिपुर टेलिभिजनबाहेक कसैले पनि तलब दिन सकेका छैनन् । यी दुईवटाले पनि समयमा भने तलब दिएका छैनन् ।

विज्ञापन बजार घट्दा टेलिभिजन संकटमा

नेपाली विज्ञापन बजार अहिले घटेकाले टेलिभिजन बन्द हुने अवस्थामा पुगेको विज्ञापन संघका पूर्व अध्यक्ष सोम धिताल बताउँछन् । पहिला वार्षिक कुल १४ अर्ब हाराहारी थियो ।

पछिल्लो समय यो आधाले घटेको छ । छापामा ६५, रेडियोमा ५०, टेलिभिजनमा ५० र अनलाइनमा ४० प्रतिशतले विज्ञापन घटेकाले टेलिभिजनले धान्न नसकेर बन्द भएको धितालको विश्लेषण छ ।

२०७२ मा भूकम्पका कारण खस्किएको विज्ञापन बजार कोरोना कालमा निकै तल झरेको थियो । जसको ठूलो मार अरुलाईभन्दा पनि टेलिभिजनलाई परेको धिताल बताउँछन्। “टेलिभिजनमा बिना अध्ययन र योजना लगानी भइरहेको छ । अहिलेको विज्ञापन बजारले भएका सबै मिडिया धान्न सक्दैन । बाँकी केही टेलिभिजन पनि बन्द हुन सक्छन्” उनी भन्छन् ।

अर्थतन्त्रमा आएको समस्याले विज्ञापन बजार प्रभावित भएको र यसैको असर मिडियामा परेको धितालको भनाइ छ । केही मिडिया भने आन्तरिक व्यवस्थापनको समस्याका कारण बन्द भएको उनको तर्क छ । पछिल्लो समय बन्द भएको ग्यालेक्सी फोरकेमा ठूलो लगानी थियो । पर्याप्त लगानी भए पनि व्यवस्थापनको कमजोरीले बन्द भएको बताइन्छ ।

अनलाइनको छायाँमा टीभी

पछिल्लोसमय सामाजिक सञ्जाल र अनलाइन न्यूज पोर्टलले टेलिभिजन विस्थापित गरेको जानकार बताउँछन् । ठूला कम्पनीले दिने विज्ञापन सोझै सामाजिक सञ्जाल वा न्युज पोर्टलमा दिन थालेपछि टेलिभिजन आर्थिक दृष्टिकोणले संकटमा परेको विज्ञापन एजेन्सी बताउँछन् ।

एजेन्सीहरू भन्छन्, ‘‘टेलिभिजन सञ्चालनका लागि करोडौँ खर्च लाग्छ । तर, अनलाइन मिडिया तुलनात्मक रूपमा केही कम खर्चमै सञ्चालन हुन सक्छ । तर त्यही माध्यम दर्शकको पहुँचमा राम्रो पुग्न सक्छ । त्यसकारण विज्ञापन बजार बाँडियो । विज्ञापन अनलाइन मिडिया र फेसबुक, युट्युबका कन्टेन्टमा पनि गए । विज्ञापन कटौती भएपछि टेलिभिजनले खर्च धान्न सकेन, बन्द हुन थाले ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर