हलिउड फिल्म अनस्टपेबलको दृश्यमा जस्तै भारतमा गत आइतबार एउटा घटना भएको छ र ५३ वटा डिब्बा भएको रेल ड्राइभर बिना नै ८० किलोमिटर गुडेको छ ।
रेल चालक चिया खानका लागि स्टेशनमा झरेको बेलामा रेल एक्कासी गुडेको हो । ड्राइभर बिनाको रेल ९० किलोमिटर प्रतिघण्टाको गतिमा जम्मुको कठुवाबाट पन्जाबको हासियारपुरसम्मको ओरालोमा गुडिरह्यो ।
पन्जाबमा उकालोमा रोकिने बेलासम्म रेलले ८० किलोमिटर दूरी पार गरिसकेको थियो। रेल आफैं रोकिएका कारण हलिउड फिल्ममा जस्तो हिरोहरु रेल रोक्नका लागि दौडिनु परेन र रेलवे कार्यालय र अधिकारीहरुको सावधानीका कारण दुर्घटना पनि हुन पाएन ।
उक्त घटनामा सो रेलका दुईजना चालकसहित ६ जनलाई निलम्बन गरिएको छ र घटनाको अनुसन्धान सुरु गरिएको छ। निलम्बन हुनेमा दुई चालकसँगै स्टेशनका सुपरिटेन्डेन्ट, पोइन्ट म्यान र अर्का अधिकारी छन् ।
बिहान ७ बजेर २५ मिनेटमा आफै गुड्न थालेको रेल ९ बजेमात्रै रोकिएको थियो ।
करिब ८० किलोमिटर गुडिसकेपछि पन्जाबको उँजी बस्सीको उकालोमा रेलको गति कम भएको बेला एकजना रेल चालक सो रेलमा चढेर आकस्मिक ब्रेक तानेर रेल रोक्न सफल भए ।
त्यसअघि चालक बिना अनियन्त्रित भएर रेल गुडिरहेको सूचना रेलवे कार्यालयले जम्बु जालन्धर खण्डका सबै स्टेशनहरुमा गराएको थियो । त्यसक्रममा उक्त खण्डमा चल्ने सबै रेलसेवा बन्द गरिएको थियो भने सो रेललाई सीधा गुडिरहनका लागि सबै क्रसिंगहरु बन्द गरिएको थियो । साथै रेलमा बिजुली आपूर्ति गर्ने केबलको स्वीच बन्द गरिएको थियो ।