वीरगञ्ज – ८ वैशाख । पर्साको छिपहरमाई गाउँपालिकामा भएको आगलागी छिमेकी राज्य भारतबाट सल्केर आएको खुलेको छ । गाउँपालिकाको वडा नम्बर १ भलुवहिया टोलमा शनिबार दिउँसो भएको आगलागी भारतबाट सल्केर आएको खुलेको हो ।
भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको ‘आगोको झिल्का’ उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ ।
भलुवहिया टोलमा लागेको आगलागीबाट मनबोध यादवको २ कठामा रहेको ओम पाथीभरा पशुपन्छी फर्म, बिरेन्द्र यादवको भुसा राख्ने घर परालको भुसा, बिसुन्देव हजराको गोठ घर र ताराचन्द्र साह तेली लगायत २० जनाको १० बिगहा भन्दा धेरै गहु बाली पूर्णरुपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट ओम पाथीभरा पशुपन्छी फर्ममा अन्दाजी १३ लाख बराबरको क्षती भएको मिर्जापुर प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासिन्दा तथा पोखरिया नगरपालिकाको दमकल, वीरगन्जबाट पुगेको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।