भारतमा ७ वर्षीय बालकलाई बलि दिएको घटना सार्वजनिक



काठमाडौं । भारतको उत्तर प्रदेशमा विद्यालयको उन्नतीका लागि भन्दै एक बालकको बलि दिइएको घटना सार्वजनिक भएको छ ।

एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान ‘बलि’मा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ ।

प्रसिद्ध ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासको आफ्नै ओछ्यानमा पीडित बालकलाई आइतबार राति मृत फेला पारिएको थियो ।

अधिकारीहरूलाई सूचित गर्नुको सट्टा विद्यालयका निर्देशक दिनेश बघेलले शवलाई आफ्नो कारको डिक्कीमा लुकाएर राखेको प्रहरीले बताएको छ ।

प्रहरी अधिकारी हिमांशु माथुरले बघेलका पिताले आयोजना गरेको कालो जादु (तान्त्रिक विधि) समारोहअघि नै बालकको हत्या गरिएको बताए ।

“बालकलाई अनुष्ठानको हिस्साका रूपमा वेदीमा लैजाने योजना थियो तर, समारोह पूरा हुनुभन्दा अघि नै उनलाई मारियो”, उनले भने ।

माथुरका अनुसार बघेल र उनका पितासहित विद्यालयका अन्य तीन शिक्षकलाई पक्राउ गरिएको छ ।

बालकको मृत्यु कसरी भयो भन्नेबारे माथुरले कुनै जानकारी दिएका छैनन् । स्थानीय सञ्चारमाध्यमले शवको परीक्षण भइरहेको बताएका छन् ।

भारतको राष्ट्रिय अपराध रेकर्ड ब्यूरोका अनुसार सन् २०१४ देखि सन् २०२१ को बीचमा मुलुकभर एक सय तीन वटा मानव बलिका घटना दर्ता भएका छन् ।

अनुष्ठानमा गरिने हत्या सामान्यतया देवतालाई प्रसन्न पार्न भन्दै गरिन्छ । बोक्सी र गुप्त विद्यामा विश्वास व्यापक भएको आदिवासी तथा दुर्गम क्षेत्रमा मानव बलिका संख्या धेरै आएका छन् ।

गत वर्ष प्रहरीले सन् २०१९ मा ६४ वर्षीया महिलाको हत्याको आरोपमा पाँच जनालाई पक्राउ गरेको थियो । ती महिलाको भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा एक मन्दिरमा गएपछि हत्या गरिएको थियो र टाउको छिनालिएको थियो ।

प्रहरीका अनुसार आरोपित मुख्य व्यक्तिले आफ्नो भाइको मृत्युको वार्षिकोत्सव मनाउन धार्मिक अनुष्ठान गरिरहेको थियो ।  एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज