वीरगंज । चाडपर्वको मौका छोपेर पर्साका ग्रामिण नाकाबाट सेटिङमै दैनिक करोडौं करोडको सामान तस्करी हुन थालेको छ । सशस्त्र र नेपाल प्रहरीकै ‘सेटिङ’ मा तस्करी मौलाएको हो।
तिलावे पुल देखि जानकीटोलासम्म नेपाल प्रहरीको ईलाका प्रहरी कार्यालय पोखरिया मातहत सिमावर्ती क्षेत्रमा असई र सई बस्ने दर्जनभन्दा बढी प्रहरी चौकी छ भने सशस्त्र प्रहरीमा इन्स्पेक्टर र डिएसपी बस्ने दश वटा गुल्म र बिओपीहरु छन । तर सशस्त्र र नेपाल प्रहरीका ई सबै युनिट इन्चार्जहरुले तस्करी नियन्त्रणको सट्टा मोटो रकम असुली गरेर तस्करीमा छुट दिएको समाचार प्राप्त भएको छ।
सशस्त्र र नेपाल प्रहरीको सेटिङमा धोरे नाकाबाट कपडा तस्करीको लाइन पाउनेहरूमा फुलकवल निवासी सरफदेव यादव, अशोक साह, जितेन्द्र साह र गमहरिया निवासी आलम रहेको समाचार स्रोतले बताएको छ । प्रहरीसंग बलियो सेटिङ गरेर उनीहरूले असोज २१ गते सोमबार देखि ठूलो मात्रामा कपडाको तस्करी सुरु गरेका छन् । दैनिक पचास लाख भन्दा बढीको कपडा उनीहरूले प्रहरी सेटिङमा भन्सार छलि तस्करी गरिरहेको स्रोतको दावी छ ।
यति मात्र हैन, धोरे नाकाबाट पावडर दूध, काजु किराना समान र किराना समान भित्रै बारुदजन्य पटाका, हार्डवेयर र कपडा राखेर तस्करी गर्ने दर्जनभन्दा बढी साना ठुला तस्करहरु काम गरिरहेका छन ।
प्रसौनीभाठ्ठा नाकाबाट भारतीय ब्रान्डका पावडर दुध, काजु र किराना आइटमको तस्कर रमेश सहित ५ जनाको समुह र गर्दौल निवासी शहनी थरका ब्यक्तीले मासिक मोटो रकम बुझाएर तस्करी गर्दै आएका छन् । यस्तै,सेटिङमा अजय, प्रकाश, र रबिन्द्र गुप्ताले पनि किराना समानको तस्करी गरिरहेका छन । राँगाभैसीको तस्करी पनि चलिरहेको स्रोतको भनाई छ ।
यसैगरि, प्रसौनीभाठ्ठा गाउँमा प्रहरीकै संरक्षणमा ५ वटा घरेलु मदिरा भठी पनि संचालनमा रहेको स्थानीय स्रोतबाट जानकारी प्राप्त भएको छ ।
यस्तै, प्रहरीले तस्करहरुलाई अपत्यारिलो ढंगमा सहजीकरण गरिदिएपछि दिनभर तस्करीका सामान प्रसौनीभाठ्ठा गाउँमा भन्डारण गरेर राति पिकअपमा लोड गरी नेपालका विभिन्न ठाउँमा पठाउने काम भइरहेको छ । जब अरु साँझ परेपछि सुत्ने तर्खर गर्छन् । त्यसपछि तस्करहरु पिकअप गाडी लिएर पुग्छन् र लोड गरी पठाउन थाल्छन् । नजिकका प्रहरी कार्यालयहरु नदेखे झैँ गर्छन् ।
यस्तै अर्का नाका अमरपटीबाट सन्दिपले युनिलिभरका क्लजपपेस्ट/फेयरलवली लगायतका कष्टमेटिक समान, मुना नामक दुई जना कपडा, भोला र भुलन कपडा, सुनिल राजनिवास र रजनीगन्धा, बिनय हार्डवेयर, बिगा र संजय कबाड तस्करी, भुवन यादव दुहिने भैंसी, टुना अमरदेव छोटेलाल र पिन्टु धान गहुँको तस्करी गर्ने गरेका छन् ।
प्रहरीले अमरपटीका मुना, ईन्दल, राजकुमार र जिउतसंग रकम बुझेर अबैध घरेलु मदिरा भठी संचालन गर्न छुट दिएका छन । मुना भने भठी संचालक भारतीय नागरिक हुन र उनको अमरपटीमा सबै भन्दा ठुलो भठी रहेको छ ।
यस्तै, अमरपटी नाकाबाट कुखुराको चल्ला पनि तस्करी भइरहेको समाचार स्रोतको छ । मोटरसाइकल, साइकल र पैदल भरिया मार्फत रातारात कुखराको चल्ला तस्करी भइरहँदा प्रहरीले नियन्त्रण गरेको छैन। प्रहरीले कुखुराको चल्ला तस्करी गर्ने गिरोहबाट मासिक नजराना बुझेर छुट दिएक आरोप छ।
यस्तै, सबैठवाबाट कपडा, जुताचप्पल र जानकीटोला सिमानाकाबाट किराना समानको तस्करी खुब चम्केको छ ।
अमरपटी, प्रसौनीभाठ्ठा, धोरे,सबैठवा, जानकीटोला लगायतका सीमानाकाबाट प्रहरी प्रशासनले तस्करीका लागि मौखिक लाइसेन्स बाँडे झैँ लाइन क्लियर गरिदिएपछि तस्करहरुले खुलेयाम दिनदहाडै भन्सार छलेर अवैधरूपमा भारतीय सामान तस्करी गरी पर्साका ग्रामीण बजार पोखरिया, केहुनिया, महुवन बजार, विश्रामपुर, डकैला, निचुटा, देउरिया, बढनिहार, रंगपुर, परवानीपुर र जीतपुरलगायतका ठाउँमा सञ्चालनमा रहेका पसलमा दिने गरेका छन् ।
भारतसँग जोडिएको पर्साको ग्रामीण बजारका अधिकांश पसलहरुमा ९० प्रतिशत चोरीतस्करीबाट भित्रिएका भारतीय सामान बेचबिखन हुने गरेको छ । तर सम्बन्धित निकायको यस्तो गम्भीर विषयमा सामान्य ध्यान पुग्न नसकेर हो या ‘आकर्षक महिनावारी’को मोहले हो, सबै ‘तैँ चुप–मै चुप’मा देखिन्छन् । जनपद र सशस्त्र प्रहरीको सेटिङमा तस्करी हुँदा संगठनकै बदनाम भएको छ।
समाचारको विषयमा प्रष्ट हुन वीरगंज एक्सप्रेसले ईलाका प्रहरी कार्यालय पोखरियाका इन्चार्ज प्रहरी निरीक्षक स्वरुप शर्मासँग सम्पर्क गर्दा मिलोमतो हो कि प्रहरीको आँखा छलेर भएको छ यहाँबाट प्रहरी पठाएर बुझ्छु भनेर इन्स्पेक्टर शर्माले प्रतिक्रिया दिए ।