वीरगञ्ज। हालै जनमत पार्टी पर्साका केही व्यक्तिहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सदस्यहरूले पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको भनी दाबी गरेको समाचारले चासोको विषय बनेको छ।
जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले सागर यादवको नेतृत्वमा २० भन्दा बढी रास्वपा कार्यकर्ताहरूले पार्टी छोडेर जनमत पार्टीमा प्रवेश गरेको जनाएका थिए। यसमा अमित यादव, अनवर मन्सुरी, लालदेव साह, सुनिल यादव, मनिष यादव, राजन यादव, उपेन्द्र यादव, विक्रम साह, सुनिल साह लगायतका व्यक्तिहरूको नामसमेत समावेश गरिएको थियो।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उक्त खबरलाई भ्रामक ठहर गर्दै खण्डन गरेको छ। रास्वपाका क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्रले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त दाबीमा कुनै सत्यता नभएको बताएका छन्। विज्ञप्तिमा उनले रास्वपाको छिपहरमाई गाउँपालिका अन्तर्गतका कुनै पनि सदस्यले पार्टी नछोडेको र जनमत पार्टीमा प्रवेश नगरेको स्पष्ट पारेका छन्।
“हाम्रो पार्टीको कुनै पनि सदस्यले जनमत पार्टीमा प्रवेश गरेको छैन। यो भ्रम फैलाउने प्रयास मात्र हो,” विज्ञप्तिमा मिश्रले भनेका छन्।
रास्वपाले यसप्रकारका आधारहीन समाचारलाई नपत्याउन आमजनतालाई अनुरोध गर्दै, आफ्नो पार्टी एकताबद्ध रहेको र यसअघि जसरी नै आफ्नो उद्देश्यप्रति प्रतिबद्ध रहेको दोहोर्याएको छ।
जनमत पार्टी र रास्वपाबीचको यो विवादले पर्साको राजनीतिक वातावरणमा थप चर्चा र चासो सिर्जना गरेको छ।