वीरगंज, १४ कात्तिक । तराईको महान पर्व ‘दिपावली तथा छठ’ । यस पर्वमा माटोको दियोलाई सँस्कृत्तिको रुपमा प्रयोग गरिँदै आएको छ । गरिब, मध्यमवर्गीय एवं धनी, सबैको घरघरमा माटोको दियो झिलीमिली बलेपछि दिपावली तथा छठ पर्वको रौनक नै बेग्लै हुन्छ तर अहिले माटोको दियो बाल्ने परम्परा विस्तारै लोप हुँदै गएको छ । बढ्दो आधुनिकीकरणसँगै माटोको दियो बाल्ने परम्परा एवं सँस्कृत्ति लोप हुँदै गएको हो ।
बढ्दो आधुनिकीकरणसँगै विद्युतीय झिलीमिली बत्तीको प्रयोगले गर्दा सँस्कृत्तिको रुपमा प्रयोग हुँदै आएको माटोको दियो लोप हुने अवस्थामा पुगेको हो । दुई तीन वर्षयता देखि माटोको दियो विक्रीमा कमि हुन थालेपछि कुम्हाल समुदाय चिन्तित बनेका छन् । पुर्खौदेखि अपनाउँदै आएका माटोको दियो, ढकना, घइँटो, हात्ती स्वरुपको कोशी विक्रीमा कमि भएपछि कुम्हाल समुदाय नै पेशा संकटमा परेकोले चिन्तित बनेका हुन् ।
बढ्दो आधुनिकीकरणसँगै भारतबाट आयातित फुलबुट्टा सहितको दियो, विद्युतीय झिलीमिली बत्ति बजारमा छ्यापछ्यापी हुन थालेपछि स्वदेशी उत्पादित माटोको दियो बनाउने कुम्हाल समुदायको पेशा नै संकटमा परेको उनीहरुको भनाई छ । दिपावली तथा छठ पर्वको बेला माटोको दियोबाट घरलाई सज्जाउनुको साथै विभिन्न पुजा स्थलमा माटोको दियोमा बत्ति बाल्ने गरिन्छ तर केही वर्षयतादेखि विजुली सहितको झिलीमिली बत्ती लगाउने, त्यसमा पनि माटोकै दियो चाहिने स्थानमा भारतबाट आयातित फुलबुट्टा सहितको दियोहरु प्रयोग गर्न थालेपछि व्यापार नै संकटमा परेको उनीहरुको भनाई छ ।
दुई तीन वर्ष अघि २ रुपैयाँमा १ वटा दियो विक्री गरेका कुम्हाले व्यापारीहरुले यस वर्ष आधा मूल्यमा विक्री गर्दा पनि ग्राहकहरु कुर्नुपरेको बताउँछन् । स्वदेशी उत्पादन भन्दा पनि विदेशी उत्पादन एवं विद्युतीय बत्तीहरु सर्वसाधारणले मन पराउन थालेपछि माटोको दियो व्यापारमा कमि आएको उनीहरुको बझाई छ । गत वर्षहरुमा छठ पर्वको लागि चाहिने हात्ती कोशी ७ सय रुपैयामा विक्री गरेको अवस्थामा हाल ३ सय रुपैयामा पनि किन्न नमानेको अर्का महिला कुम्हाले व्यापारी बताउँछिन् । दिनप्रतिदिन महँगाई बढ्दै गएपनि यस व्यापार घट्दै गएको उनको भनाई छ ।
दुई महिनाको मेहनत एवं पैसा लगानी गरेर बनाएको माटोको दियोहरु विक्री नभएको कारण आधा भन्दा कम मूल्यमा विक्री गर्नुपरेको बताउँछिन् । अर्का व्यापारीले माटोको व्यापार ९० प्रतिशतले घटेको बताउँछन् । मैनबत्ती, विदेशबाट आयातित दियो एवं विद्युतीय झिलीमिली बत्तीेले पुर्खयौली पेशा नै संकटमा पर्ने चिन्ताले सताएको बताउँछन् । दुई महिना लगाएर बनाएको दियो विक्री नहुँदा लगानी पनि डुब्ने चिन्ताले सताएको बताए । दिपावली एवं छठ पर्वसम्म यो दियोहरु विक्री नभएपछि लगानी डुब्ने बताउँछन् ।
पर्सा जिल्लाको ग्रामीण क्षेत्र विन्दवासिनी गाउँपालिका, पकहामैनपुर गाउँपालिका लगायतका अधिकाँश कुम्हाल समुदायका व्यक्तिहरु माटोको भाँडो बनाएर वीरगंज बजारमा विक्री गर्न पुग्ने गरेका छन् । स्वदेशी उत्पादन सर्वसाधारण मन पराउन छाडेपछि केही व्यापारीहरु आफ्नो पेशालाई छाडेर दियो आयातित गरेर विक्री गर्न थालेको बताउँछन् । स्वदेशी भन्दा विदेशी उत्पादनको भाँडाकुँडा महंगो मूल्यमा विक्री भइरहेता पनि सर्वसाधारणको आकर्षण भने विदेशी उत्पादनतर्फ नै देखिन्छ । स्वदेशी उत्पादित माटोको दियो १ रुपैयाँमा १ वटा दियो विक्री भइरहेको छ भने विदेशी दियो प्रतिवटा १५ रुपैयामा विक्री भइरहेको छ । तैपनि सर्वसाधारणको आकर्षण विदेशी उत्पादन तर्फ नै छ । जसले गर्दा स्वेदशी उत्पादनकर्ताहरु मर्कामा पर्ने गरेका छन् ।
कतिपयले कुम्हाल समुदायका व्यक्तिहरुले आफूले उत्पादन गरेर विक्री गर्नुभन्दा भारतबाट किनेर ल्याएर विक्री गर्दा फाइदा हुने गरेको बताउँछन् । उत्पादन गरेर प्रतिवटा दियो २ रुपैयाँमा पनि विक्री गर्न गाह्रो छ तर विदेशी उत्पादित दियो किनेर भन्सार तिरेर पनि प्रति दियो ५ रुपैयाँ थपेर विक्री गर्दा पनि विक्री हुने गरेको कारण उनीहरु उत्पादन भन्दा पनि आयात गरेर विक्री गर्न रुचाउने गरेका छन् । माटोको भाँडो विगतमा आयात गर्दा भन्सार शुल्क नलागेतापनि केही वर्षयतादेखि भन्सार पनि तिर्नु परि रहेको उनीहरुको भनाई छ । २ लाख बराबरको दियो आयात गर्दा १० देखि १३ हजार रुपैयाँसम्म भन्सार शुल्क तिर्ने गरेको बताउँछन् । यो समाचार वीरगंज टाईम्समा हरिशंकर शर्माले लेखेका छन ।