पर्सा ३ लाई नमूना निर्वाचन क्षेत्र बनाउने परिकल्पनामा युवा व्यवसायी रुपेश पाण्डेय



वीरगंज । फेसनको ब्रान्डिङ बजारमा स्थापित युवा व्यवसायी एवम् आरपी ग्रुपका सञ्चालक रुपेश पाण्डेय पछिल्लो समय आफ्नो गाउँ ठाउँका दुःख पीडा सुन्नमा व्यस्त देखिन्छन् । काठमाडौंको दरबारमार्गमा ‘दा मिलानो’, लबिम मलमा ‘लुई फिलिप’, ‘इन्डियन टेरेन’ र जावलाखेलमा ‘एपी ब्रान्ड’ का सोरुम सञ्चालक पाण्डेले व्यवसायका साथसाथै समाज रुपान्तरणका लागि समेत आफ्नो यात्रा अगाडि बढाएका हुन् ।

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर तीन मानिकपुर वार्ड नम्बर २ का स्थायी बासिन्दा हुन् उनी । पछिल्लो समय उनी सो क्षेत्रको विकास तथा रुपान्तरणका लागि विभिन्न अध्ययन तथा काम गर्दै आइरहेका छन् ।

उनी राजनीतिक दलका नेतृत्वहरूसँग गुनासो गर्छन्, जनताका दुःख देख्छन् र सहयोगका लागि अगाडि बढ्छन् । पछिल्लो समय कहाँ बाटोघाटो भत्केबिग्रेको छ भन्नेदेखि खानेपानी नभएको तथा तरकारी बिक्रि नभएको गुनासो समेत उनलाई जनताले गर्ने गरेका छन् । पर्सा जिल्ला व्यापारिक, आर्थिक, सामाजिक दृष्टिकोणमा राम्रो रहेपछि हुनुपर्ने जति विकास हुन नसकेको उनी बताउँछन् ।

पाण्डेयले आफ्नो राजनीतिक, सामाजिक भेटघाट क्षेत्रबासीलाई भेट्ने, समस्याहरु बुझ्ने र समस्या निराकणको योजना बनाउनेसम्मका गतिविधिमा आफूलाई व्यस्त राखेका छन् ।

छठ पर्वका अवसरमा पर्सामा स्थानीयहरूसँग भेटिएका उनै पाण्डेयसँग समसामयिक विषयमा कुराकानी गरिएको छ । प्रश्तुत छ, रुपेश कुमार पाण्डेयसँगको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय गाउँगाउँमा तपाईंको उपस्थिति देखिन्छ । के पाउनुभयो गाउँको अवस्था ?

मैले गाउँमा घुम्दै गर्दा, गाउँको समस्या बुझ्दै गर्दा मनमा आयो कि अरु जिल्लाको तुलनामा हाम्रो जिल्लामा किन विकास भइरहेको छैन ? मेरो बाल्यकाल मलाई अहिले पनि याद छ । त्यतिखेर गाउँमा रक्सी खाने व्यक्ति एक जना मात्रै थिए । २/३ वर्षदेखि हेर्दा अहिले गाउँमा प्रत्येक घरमा रक्सी खाने व्यक्तिहरु छन । रक्सी खाने, घरमा आफ्नो श्रीमतीलाई कुट्ने, झगडा गर्ने जस्ता विकृति धेरै नै बढेको छ । समाजको यो दुर्दशा कसरी भयो भन्नेबारे समेत मैले हेरें । हाम्रो गाउँ इण्डियाको सिमानासँग गासिएको गाउँ हो । अर्को समस्या भनेको किसानले उत्पादन गरेका कृषिवालीको बजारीकरण छैन । बाटोघाटोको व्यवस्था राम्रो छैन । शिक्षा, स्वास्थ्यको अवस्था राम्रो छैन । कृषिमा आवश्यक पर्ने मल किसानले समयमा पाउदैनन् । किसानलाई कृषिकर्जामा सहजीकरण छैन । यी समस्याहरु हटाउनका लागि अध्ययन गर्दै छु, भिजन बनाउँदै छ । मैले पर्सा जिल्ला क्षेत्र नं. ३ का समस्याहरुलाई कसरी हुन्छ यसलाई निर्मुल गर्ने लक्ष्य राखेको छु ।

अहिले प्रत्येक घरका मान्छेले आफ्नो बच्चालाई बोर्डिङ स्कुलमा पढाउने सामथ्र्य छैन । आफ्नो गाउँमा बच्चाहरुलाई स्कुल पठाउदा नुहाइधुवाइ गरेर, नङ, कपाल काटिदिएर सफा बनाएर बच्चालाई स्कुल पठाउनुपर्यो । यसको लागि त्यो किसीमको शिक्षा दिनुपर्यो । यसको समेत अहिले अभाव रहेकाले मैले यसबारे समेत अध्ययन गरिरहेको छु । शिक्षा भनेको पहिलो चिज हो । शिक्षा भएपछि अरु कुराहरु हुँदैजान्छ । हाम्रो प्रत्येक गाउँमा स्कुल छ । स्कुलका शिक्षकहरुले राम्रोसँग अध्ययन, अध्यापन गराइरहेका छन कि छैनन् । स्वास्थ्य चौकीले राम्रोसँग स्वास्थ्य सेवा दिइरहेका छन कि छैनन् । स्थानिय सरकार, जनप्रतिनिधीहरुले राम्रोसँग सहजीकरण गरिदिएका छन कि छैनन, त्यसलाई चाहिने सुविधाहरुको व्यवस्था गरिरहेको छ कि छैन ? यी सब समस्याहरु देखेर मैले आफ्नो जिन्दगीमा पैसा कमाउन ठुलो कुरा हैन, मान्छेलाई पहिला सन्तुष्टि कमाउनु पर्यो । सन्तुष्टि जे कामबाट हुन्छ त्यो काम गर्नपर्यो । मैले सन्तुष्टि देखेँ र मान्छेको सोच देखेँ । मान्छेको आशा र भरोसा यदि म प्रति छ भने मैले ती आशा र भरोसालाई पुरा गर्न सक्छु भने म एउटा समाजको अगुवा भएर बाटो देखाउने म अगाडि बढ्छु । यदि म मान्छेको इच्छा पुरा गर्न सक्दैन भने मैले ठाँउ ओगेटेर बसेर मात्रै हुँदैन । मधेस प्रदेशको पर्सा जिल्ला क्षेत्र नं. ३ लाई कसरी हुन्छ एउटा उदाहरणिय बनाउने । मधेश प्रदेशमा ८ वटा जिल्लाहरु छन । ८ वटा जिल्लामा मेरो ३ नं. क्षेत्र हो । यस क्षेत्रको क्षेत्रफल २३२ वर्गमिटर छ । मतदाता ९० हजार ४ सय ३२ छन् । यहाँ ७ वटा स्थानीय तह छन् भने ३५ वटा वडा छन् । २ वटा नगरपालिका र ५ वटा गाउँपालिका छन् । यी ३५ वटा वडामा केके जरुरी छ, के चिज काम चाहिन्छ, भिजन बनाएर आर्थिक दृष्टिकोणले कसरी सफल बनाउन सकिन्छ, सामाजिक दृष्टिकोणबाट कसरी सफल बनाउन सकिन्छ, आर्थिक दृष्टिकोणले कसरी सफल बनाउन सकिन्छ, सबै कोणबाट कसरी सफल बनाउन सकिन्छ भन्नेबारे अहिले अध्ययन गरिरहेको छु ।

मधेश प्रदेशको यो जिल्ला, यो क्षेत्रलाई हराभरा बनाउन बाटोको छेउमा रुखहरु लगाउने, स्वास्थ्य, शिक्षालाई गुणस्तरीय बनाउने लक्ष्य छ । पर्सा जिल्लाको क्षेत्र नं. ३ लाई नमुना क्षेत्र होस्, ताकि देशका अरु मान्छेले, अरु क्षेत्रले हाम्रो क्षेत्रलाई नक्कल गरोस् । हाम्रो क्षेत्र उदाहरणिय बनोस् । यसरी काम गर्नका लागि यहाँको नेतृत्व कुनै पार्टी विशेष नभई समाज विशेष हुनसक्नुपर्छ । त्यो समाजलाई हामीले सही निर्देशन दिनुपर्छ । त्यो मार्गदर्शनले समाज, क्षेत्र र हाम्रो सन्तिित सबैको विकास हुन्छ ।

अहिले भइरहेको काम सन्तोषजनक छैन ?

केही नभएको चाहीँ होइन । तर पुगेन । समाज वा नागरिकको अपेक्षा बढ्दो छ । अहिले नागरिकलाई काम चाहिन्छ । नागरिकलाई होल्ड गरेर राख्नुभएन । कसरी हुन्छ आफ्नो क्षेत्रका नागरिकलाई आफ्नो क्षेत्रमा होल्ड गरेर रोजगारी दिन सक्नुपर्छ ।

रोजगारीका लागि तपाईंको क्षेत्रको सम्भावना केकस्तो छ ?

कृषिलाई प्रवर्धन गर्नुपर्छ । कसैले तरकारी खेती गर्दछ भने वडाले गाउँपालिकाले प्रदेशले केन्द्रले सहयोग गर्न सक्नुपर्छ । गाउँ गाउँको कृषि बालीलाई सहजीकरण तथा बजारीकरण गर्ने गर्न सक्नुपर्छ । साथै हाम्रो क्षेत्रमा कोल्ड स्टोर चिस्यान गृहको व्यवस्थापन गर्न सक्नुपर्छ । त्यसका लागि सबै सहको सहयोग लिने र काम गर्ने गर्नुपर्छ । चिस्यान केन्द्र भएमा कुनै पनि तरकारी फलफुल वा कृषि बालीहरू बिग्रिँदैन र आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । त्यसमा नागरिकले वा किसानले पैसा तिरेर होल्ड गर्छन् । यी कुराहरूलाई योजनाबद्ध रूपले पूरा वा कार्यान्वयन गर्न सकिएमा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मुलुककै नमुना निर्वाचन क्षेत्र बन्नेमा कुनै दुविधा छैन । दुई मत छैन । प्रशस्त सम्भावना भएर पनि व्यवस्थापन तथा नेतृत्वको भिजनको अभावमा अहिले यस क्षेत्र छायाँमा परेको हो । नेतृत्वमा काम गर्ने सोच हुनुपर्छ पदको लागि मात्र नेतृत्व गर्ने वा राजनीतिमा आउने गर्नु हुँदैन । पद पाएपछि पदीय मर्यादा पनि पूरा गर्नुपर्छ र समाजको आवश्यकताहरू पूरा गर्दै जानुपर्ने हुन्छ । उसको धर्म नै आफ्नो क्षेत्रको जनतालाई कसरी सुविधा सम्पन्न गराउने राम्रो गराउने कसरी विकास गराउने भन्ने हुनुपर्छ ।

तपाईंलाई पर्सा तीनलाई कुनै मोडेलमा विकास गर्न सकिन्छ भन्ने लाग्छ ?
भारतमा सोनिया गान्धीको क्षेत्र हो रायगबेरी । भारतको सो क्षेत्रका जनता, वा केरलामा पनि भएको सामाजिक रुपान्तरण निकै उदाहरणीय छ । आफ्नो क्षेत्रको जनतालाई सबैभन्दा पहिला शिक्षा दिनुपर्छ । शिक्षाले बाँकी आधारहरू खुला गर्दै जान्छ भन्ने मलाई लाग्छ । कुनै पनि क्षेत्रका जनतालाई त्यहाँको आवश्यकता भौगोलिक अवस्थिति जस्ता कुरा हेरेर आफ्नै किसिमको विकासको मोडल अवलम्बन गर्नुपर्छ । अन्य मुलुकको वा अन्य क्षेत्रको हेरेर यहाँ नमिल्न पनि सक्छ । हाम्रो क्षेत्रमा जनतालाई चाहिने चिज भनेको अहिले मुख्य गरी शिक्षा स्वास्थ्य बाटोघाटो रोजगारी हो । यी चिजलाई हामीले प्राथमिकता दिएर काम गर्न सक्नुपर्छ । यसका लागि जे सम्भावना छ त्यसलाई अगाडि लगाउनु पर्छ । जस्तो कि हाम्रो क्षेत्रमा कृषिलाई प्राथमिकता राख्दा फाइदा हुन्छ तरकारी खेतीलाई बजारीकरण गर्ने र व्यावसायिक तरकारी खेती तर्फ किसानलाई आकर्षित गर्ने समयमा मल बिउभिजनको व्यवस्थापन गर्ने हो भने विकास धेरै टाढा छैन । यसको लागि तिनै तहका सरकारसँग समन्वय गर्न सक्ने किसिमको नेतृत्व हामीलाई आवश्यक छ ।

कृषिको बजारीकरणका लागि यस क्षेत्रमा सम्भावना कस्तो देखिन्छ ?
बजारीकरणका लागि सम्भावना एकदमै राम्रो छ र यहाँको मुख्य जिविकोपार्जन पनि कृषि नै भएका कारण धेरै किसान हरु कृषिमा आबद्ध छन् यसलाई बजारीकरणका लागि यहाँ पहिलो कुरा भनेको कोल्ड स्टोर नै हो ।
। कोल्ड स्टोर सञ्चालन तथा व्यवस्थापन गर्न सकिएमा यहाँका नागरिकलाई आर्थिक लाभ हुनुका साथै कृषि उत्पादनहरूको सदुपयोग समेत हुने हुन्छ । त्यसकारण कोल्ड स्टोर निर्माण तथा कृषिको बजारीकरणका लागि नेतृत्वले काम गर्न जरुरी छ । यस क्षेत्रमा माछापालन बङ्गुर कुखुरा हाँस बाख्रा पालन तथा कृषि जस्ता पशुपालन तथा कृषि क्षेत्रमा पनि लगानी गर्न सकिने प्रशस्त सम्भावनाहरु छन् जसले यस क्षेत्रको आर्थिक गतिविधिलाई बढावा दिनुका साथै आर्थिक स्तर उन्नति समेत गर्न भूमिका खेल्दछ । खुल्ला सीमाका कारण पनि र नजिकै सीमा भएका कारण पनि इन्डियातर्फ तरकारी खेती तरकारी तथा पशु निर्यात गर्न सकिन्छ ।

अहिले कृषि बिउविजन तथा रासायनिक मलको समेत समस्या हुने गरेको छ । विभिन्न कम्पनीहरूले रसायनिक मलको व्यवस्थापन गर्दै आए पनि आवश्यक परेको समयमा मल नपाउने जस्ता कारणले समस्या सिर्जना हुँदै आएको छ । मैले विगतदेखि नै यस क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान गर्दै आइरहेको छु । त्यसकारण पनि यी क्षेत्रको विकासका लागि यस्ता कदमहरु चाल्नुपर्ने अहिले आवश्यकता हो जुन जनताले प्रत्यक्ष बताउँदै आएका छन् । यही कारणले म अहिले जनताको अगुवा भएर जनतालाई सहयोग तथा सहजीकरण गर्ने गरी काम गरिरहेको छु ।

विगतमा आफ्नो गाउँ आफ्नो जिल्लामा जाने आउने त तपाईंको भइरहन्थ्यो । तपाईँले कहिलेदेखि गाउँ समाज तथा क्षेत्रलाई यसरी गहन रुपमा अध्ययन गर्न सुरु गर्नुभयो ?

दुई वर्ष अगाडि मेरो आमाको दुखद निधन भयो । त्यस समयमा म गाउँमा गएर १५ दिन बसें । त्यतिबेला मैले गाउँमा देखेँ बेलुका ५ बजेपछि प्रत्येकको घरघरमा रक्सी खाने झैझगडा गर्ने बढ्दो थियो । त्यसबाहेक सामाजिक समस्या स्थानीय समस्या मैले प्रत्येक क्षेत्रमा हेरेँ । त्यसपछि मलाई लाग्यो कि यो क्षेत्रको विकासका लागि नेतृत्व चुकिरहेको छ । अब आफूले व्यवसाय मात्र गर्ने भन्दा पनि समाजको लागि नागरिकको लागि केही गर्नुपर्छ भन्ने सोच आयो त्यसपछि मैले यतिन्जेल निरन्तर नागरिकको कुरा सुन्ने नागरिकलाई समस्या पर्दा सहयोग गर्ने समाज रुपान्तरणका लागि सहयोग गर्ने गर्दै आइरहेको छु । २०४८ सालदेखि अहिलेसम्म यस क्षेत्रमा जजसले राजनीति गरे चुनाव जिते उनीहरुले यस क्षेत्रको विकासको लागि गरेझै के केही पनि देखिँदैन । नागरिकको जीवनस्तर झन् खस्किँदै गएको छ । त्यसकारण पनि म यस क्षेत्रको विकासका लागि नागरिकको जीवनस्तर सुधार्नका लागि अब उत्रनुपर्ने भएको छ अहिले नागरिकसँग कुरा गर्दै गर्दा समाजसँग भिज्दै गर्दा यदि समाजले मेरो आवश्यकता ठानेमा म आगामी निर्वाचन २०८४ मा यस क्षेत्र को नेतृत्व गर्दै निर्वाचनमा होमिने समेतको योजना बनाएको छु ।

अहिले म हरेक समय नागरिकसँग नजिक भएर उनीहरूको दुःख सुखमा साथ दिँदै आइरहेको छु । धेरै जसो समय म नागरिकसँगै नागरिकको समस्या सुन्दै आइरहेको छु । यस क्षेत्रमा के गर्दा बढी बुझ्न सक्छु के गर्दा राम्रो काम गर्न सक्छु सकिन्छ भनेर म हेरिरहेको छु ।

यस अवधिमा अहिले नागरिकले चाहेको पाउनुभयो ?

अहिले नागरिकको अपेक्षा एकदमै उच्च हुँदै गइरहेको छ। यस स्वास्थ्य शिक्षा बाटोघाटो सहज होस् भन्ने चाहेका छन् । को बेला मात्रै नेता आउने त्यसपछि हराउने विकास नगर्ने काम नगर्ने प्रवृत्ति हटोस् भन्ने चाहेका छन् आफ्नै गाउँ ठाउँलाई माया गर्ने मान्छे गाउँठाउँको विकासका लागि लाग्ने मान्छे नेतृत्वमा आओस् भन्ने चाहेका छन् । यस क्षेत्रले हरेक पटक मन्त्री पाएको छ प्रदेशमन्त्री पनि पाइसकेको छ। तर उहाँहरू जति पटक जति जना जहिले मन्त्री भएपनि निर्वाचन क्षेत्रको अवस्था उस्तै छ । अहिले नेताले केही पनि गरेन भन्ने सोच बढ्दो छ। भिजनै नभएका नेताहरू छन् भन्ने छ त्यसकारण नागरिकलाई भिजन चाहिएको छ सपना चाहिएको छ सपना देखाउने मान्छे चाहिएको छ र त्यो देखाएको सपना पुरा गर्ने मान्छे चाहिएको छ । नागरिकलाई गफ चाहिएको होइन काम चाहिएको छ । त्यसका लागि म काम गर्दै छु । भिजन बनाउँदै छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज