
वीरगञ्ज । पर्सा जिल्लाको पोखरिया नगरपालिका–८ स्थित जगतपुरमा वाइफाइ बन्द गर्न भन्दै सुरु भएको विवादले दुखद मोड लिँदा ८० वर्षीय वृद्ध रामजान देवानको ज्यान गएको छ।
प्रहरीका अनुसार, वृद्ध रामजानले सोमबार राति आफ्ना नाति काबुल देवान (१८ वर्ष) र नातिनी खुश्वु देवान (२० वर्ष)लाई सुत्नुअघि वाइफाइ बन्द गर्न आग्रह गरेका थिए। तर, उनीहरूले वाइफाइ बन्द गर्न अस्वीकार गरेपछि विवाद चुलिएको थियो। विवादका क्रममा रामजानले रुष्ट हुँदै गालीगलौज गरेपछि नाति-नातिनीले उनलाई कुटपिट गरेका थिए।
गम्भीर चोट लागेका रामजानलाई तत्कालै वीरगञ्जस्थित न्युरो अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा मङ्गलवार बिहान उनको मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन्।
घटनापछि प्रहरी टोलीले काबुल र खुश्वुलाई नियन्त्रणमा लिएको छ। हाल उनीहरू प्रहरी हिरासतमा छन् र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।
सुरक्षा अधिकारीहरूले पारिवारिक तनाव र नयाँ प्रविधिसँग सम्बन्धित विवादले परिवारमा गहिरो असन्तुलन निम्त्याउन सक्ने खतरा औंल्याएका छन्। सामान्य विषयजस्तो लाग्ने प्रविधि सम्बन्धी असमझदारीले गम्भीर परिणाम निम्त्याउन सक्ने यो घटना उदाहरण बनेको छ।