
वीरगंज । वीरगंज, नेपालको औद्योगिक केन्द्र र मधेशको गौरव मानिएको यो सहर, अहिले आफ्नो अधिकारको आवाज उठाउँदैछ। आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रभु साहले आज नारायणी रंगशालाको निरीक्षण गर्दै यस ऐतिहासिक रंगशालाको दुर्दशा देखेर सरकारलाई गम्भीर प्रश्न गरेका छन्।
नारायणी रंगशाला, जसले गौरवशाली खेलकुद इतिहास बोकेको छ, अहिले जर्जर अवस्थामा पुगेको छ। रंगशालाको हालको अवस्था देख्दा प्रश्न उठ्छ– किन सरकारले यसको उचित संरक्षण र विकासमा ध्यान दिएको छैन? के यहाँको बालबालिकाले खेलकुदमा आफ्नो भविष्य खोज्ने अधिकार छैन?
प्रभु साहले निरीक्षणपछि सरकारलाई कटाक्ष गर्दै भने, “बिरगंजले देशलाई धेरै योगदान दिएको छ। तर यहाँको रंगशालाको अवस्था हेर्दा लाग्छ, सरकारले बिरगंजलाई ‘USE & THROW’ गर्ने स्थान सम्झिएको छ। कर तिर्ने नागरिकले सुविधाको प्रतिफल पाउने अधिकार राख्दैनन् र?”
उनले सरकारलाई चेतावनी पनि दिए, “अब बिरगंज चुप लागेर बस्दैन। नारायणी रंगशालाको पुनर्निर्माण र विकास सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्छ। २१ औं शताब्दीको लोकतान्त्रिक युगमा यस्तो विभेद सह्य छैन। बिरगंजले अब आफ्नो अधिकार र पहिचानको लागि लड्नेछ।”
बिरगंजवासीहरू पनि यो विषयमा एकजुट भएका छन्। नारायणी रंगशालालाई पुनः जीवन दिनका लागि जनस्तरबाटै अभियान थाल्ने तयारी भइरहेको छ। सरकारको ध्यानाकर्षण गराउन खेलकुदप्रेमी युवा, समाजसेवी र नेताहरू एक ठाउँमा उभिएका छन्।
बिरगंज अब जागेको छ। यसको अधिकार र गौरव फर्काउन बिरगंजवासीले सशक्त आवाज उठाउने सङ्कल्प गरेका छन्।