
वीरगञ्ज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टिक्न नसक्ने स्थानीय तहका रूपमा चिनिएको छ । पछिल्लो दुई वर्षको अवधिमा यहाँ ८ जना प्रमुख प्रशासकीय अधिकृतहरू फेरिएका छन् । अध्यक्षकाे रबैयाका कारण गाउँपालिकाको प्रशासनिक कार्य सञ्चालनमा गम्भीर चुनौती थपिदै गएकाे स्थानीयहरूको भनाइ छ ।
२०८० सालदेखि हालसम्म छिपहरमाई गाउँपालिकामा ६ जना प्रमुख प्रशासकीय अधिकृत र २ जना निमित्त प्रशासकीय अधिकृत गरी ८ जना अधिकृतहरूले पालो पालो काम गरेका छन् । स्वास्थ्य शाखाका प्रमुख शम्भु साह, राकेश ओझा, सिकिन्द्र शाह, कृष्ण ठाकुर, अशोक रौनियार, सनि कुमार र उदयशंकर चौधरी लामो समय टिक्न सकेनन् । हिजो सोमबार नयाँ प्रमुख प्रशासकीय अधिकृत कादिर बाबु देवान हाजिर भएका छन ।
अध्यक्ष गुप्ताको कार्यशैलीले प्रत्येक प्रशासकीय अधिकृत दुईदेखि पाँच महिना मै सरुवा गराई जाने गरेका छन् । जसले गर्दा स्थानीय तहको प्रशासनिक अस्थिरता र प्रति प्रश्नचिन्ह खडा भएको छ।
अध्यक्षको विवादास्पद रवैया
नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष मनोज गुप्तामाथि अनियमितता र कर्मचारीमाथि गैरकानुनी काम गर्न दबाब दिने गरेकाले प्रशासकीय अधिकृतहरू बस्न नमान्ने गरेकाे बताउँछन् । अध्यक्ष गुप्ताले नातेदारहरूलाई विकास निर्माणको ठेक्का दिने, फर्जी कागजात बनाएर बजेट दुरुपयोग गर्ने तथा आफ्ना निकटवर्तीहरूलाई नियममा नपरेपनी उनलाई नै प्राथमिकता दिने गरेकाले सरूवा भई जाने गरेको स्थानीयहरू बताउँछन् ।
छिपहरमाई गाउँपालिकामा अनियमितता र अध्यक्षको विवादास्पद गतिविधिका कारण सुशासन, पारदर्शिता, र विकासका कार्यहरू प्रभावित भइरहेका छन् । स्थानीयहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा छानबिन अघि बढाउन माग गरेका छन् ।
सौर्य सिँचाइ प्रणाली जडानको नाममा ठूला मात्रामा बजेट दुरुपयोग गर्न खोजिएको घटनासहित पाँच दर्जनभन्दा बढी अनियमिततासम्बन्धी मुद्दाहरू दर्ता भएका छन् ।
छिपहरमाई गाउँपालिकामा सुशासन र पारदर्शिताका लागि तत्काल कदम चालिनुपर्ने स्थानीयहरूको माग रहेको छ ।