
वीरगञ्ज । भारतबाट अबैध रुपमा ल्याउँदै गरेको कपडा र चप्पलजुत्तासहितका तस्करीका समान सशस्त्र प्रहरीले पर्साको पकहा मैनपुर–५ लक्ष्मीपुर दशगाजा क्षेत्रबाट नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल गुल्म लहावरथकरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले सोमबार दिउँसो उक्त समान बरामद गरेको हो।
बरामद सामान पर्साका चर्चित तस्कर कालिकामाई–२ भेडिहारी निवासी बैला भनिने सत्रोहन साह रौनियारको रहेको खुलेको छ। नामुदत तस्कर बैलाले बिगत लामो समयदेखि प्रहरीलाइ मोटो रकम नजराना दिएर तस्करी गर्दै आएका छन।यसै तस्करीबाट पर्साको वीरगञ्जसहित विभिन्न स्थानमा घरजग्गा जोड्न सफल भएका छन्।
स्थानिय बिओपी गुल्म लाहवरथकरीसँग सेटिङ्ग मिलाएर अबैध कारोवार गर्ने गरेको सूचना प्राप्त भएपछि १३ गणको टोली उनलाई पक्राउ गर्न पुगेको बुझिएको छ ।
स्थानीय स्रोतका अनुसार उनले पोखरिया बजारमा मागअनुसार सम्पूर्ण तस्करीका सामान उपलब्ध गराउँदै आएका छन्।
सशस्त्र प्रहरीले तस्करीका सामानसहित एक मोटरसाइकल र बैला भनिने तस्करलाई समेत पक्राउ गरेको थियो। तर, मोटरसाइकल र सामान भन्सार बुझाएको भए पनि तस्कर बैला भने सत्रोहनलाई सशस्त्र प्रहरीले छोडेको आरोप लागेको छ।
तस्करीको समान नियन्त्रणमा लिने क्रममा बैलाले सशस्त्र प्रहरीको टोलीसँग धक्का मुक्की गरेको थियो । सो क्रममा बैला र उनका सहयोगीहरुले प्रहरीलाई लक्षित गरी गाली ग्लौज समेत गरेको थियो । प्रहरी र बैलासँग भएको सो घम्साघम्सीको भिडियो सार्वजनिक भएको छ ।
उनको साथबाट १ लाख ६० हजार बराबरको माल समान बरामद भएको सशस्त्र प्रहरी बल १३ नं. गणका सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमालले बताए । सशस्त्र प्रहरी गुल्म लहावथकरीका डिएसपीका अनुसार बरामद गरिएको समान १३ नं. हेडक्वाटरमा पठाइएको बताए । तस्करले समान छोडेर भागेको र तस्कर पक्राउ नपरेको उनले बताए ।
स्थानियहरुका अनुसार स्थानिय प्रहरीले तस्करहरुसँग नजराना लिने गरेको कारण तस्करी मौलाएको तथा तस्करहरु उन्मुक्ति पाउँने गरेका छन् । ग्राणि क्षेत्रमा बैला जस्तै दर्जनौ तस्करीहरुको रजगज रहेको छ । प्रहरी संगठनले भने मासिक नजराना लिएर तस्करहरुलाई उन्मुक्ति दिदै आएको छ ।
तस्करी रोक्न सशस्त्र प्रहरीको भूमिका विवादमा परेको यो घटनाले सुरक्षा निकायको विश्वसनीयतामाथि प्रश्न उठाएको छ।